काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६९५ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकमा वृद्धि भएसँगै बजारमा कारोबार रकम पनि बढेको छ। बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ८ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन्।
बिहीबारको कारोबार रकम करिब साढे ६ महिनायताकै उच्च हो। यसअघि गत वैशाख ३ गते नेप्सेमा करिब ९ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
यस दिन बेनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य ३.६५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको बिहीबार ३५ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
समग्रमा, नेप्से परिसूचकमा लगातार दोस्रो दिन देखिएको वृद्धि र कारोबार रकममा आएको बढोत्तरीले बजारमा लगानीकर्ताको सक्रियता बढेको संकेत गरेको छ।


