२०८३ कार्तिक १५ गते शनिवार

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १५
karnali_corridor

सुर्खेत। भारत–चीनलाई जोड्ने रणनीतिक महत्वको कर्णाली करिडोरलाई चार लेनको कालोपत्रे सडकमा स्तरोन्नति गर्ने प्रस्ताव अघि सारिए पनि कार्यान्वयन हुन सकेको छैन।

भारतको जमुनाहादेखि नेपालगञ्ज, कोहलपुर, सुर्खेत हुँदै चीनको हिल्सासम्म जोडिने ५०५ किलोमिटर लामो यो सडकलाई कर्णालीको आर्थिक विकास र अन्तरदेशीय व्यापारको नयाँ ढोकाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

कर्णाली करिडोरको खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।

प्रस्तावअनुसार आयोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र चार लेन सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य राखिएको कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले जानकारी दिए।

तर, प्रस्तावित २४६ किलोमिटरमध्ये हालसम्म दुई लेनको मापदण्डअनुसार ५० किलोमिटर सडक स्तरोन्नतिको काम मात्रै निर्माणाधीन अवस्थामा रहेको आयोजनाको अवधारणापत्रमा उल्लेख छ।

अधिकांश सडक खण्डको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) स्वीकृत भइसकेको र दुई लेन सडक स्तरोन्नतिका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाइएको छ।

कर्णाली करिडोरको खुलालुदेखि चीनको सीमावर्ती हिल्सासम्म २६९ किलोमिटर सडक पर्दछ। यसलाई दक्षिण र उत्तर गरी दुई खण्डमा विभाजन गरिएको छ।

कालिकोटको खुलालुदेखि बाजुरा हुँदै हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटर दक्षिण खण्ड र सलिसल्लादेखि सिमकोट हुँदै हिल्सासम्म १४६ किलोमिटर उत्तर खण्ड रहेको छ।

दक्षिण खण्डमा १२३ किलोमिटर सडकको ट्र्याक निर्माण सम्पन्न भएको छ। त्यसमध्ये ३५ किलोमिटर सडक ग्राभेल भइसकेको छ।

पिलीचौरदेखि कुइँडीसम्म २३.७ किलोमिटर र कुइँडीदेखि तुम्चासम्म २७.३ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का व्यवस्थापन गरी निर्माण भइरहेको छ।

यी दुई खण्डको कुल लम्बाइ ५१ किलोमिटर भए पनि अवधारणापत्रमा ५० किलोमिटर सडकमा काम भइरहेको उल्लेख गरिएको छ।

त्यस्तै, घट्टाचौरदेखि भुक्कासम्मको १४ किलोमिटर सडक खण्डमा नेपाली सेनाले कडा चट्टान फुटाउने काम गरिरहेको छ। उक्त क्षेत्रमा हाल डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ।

उत्तर खण्डको १४६ किलोमिटर सडकको ट्र्याक निर्माण सम्पन्न भएको छ। यसमध्ये ६२ किलोमिटर ग्राभेल भइसकेको र थप २१ किलोमिटर ग्राभेल गर्ने काम जारी रहेको अवधारणापत्रमा उल्लेख छ।

यस खण्डमा निर्माण गर्नुपर्ने १५ पुलमध्ये नौवटाको ठेक्का व्यवस्थापन भएको छ। एउटा बेलीब्रिज निर्माण सम्पन्न भएको छ भने आठवटा पुल निर्माणाधीन छन्।

भारतदेखि चीनसम्मको व्यापारिक मार्ग

कर्णाली करिडोरलाई दक्षिण एसिया र मध्य एसियाबीच व्यापारिक सम्पर्क विस्तार गर्ने सम्भावित मार्गका रूपमा लिइएको छ। यसले दक्षिणमा भारतको जमुनाहा र उत्तरमा चीनको हिल्सा नाकालाई जोड्नेछ।

हिल्साबाट चीनको नजिकको बजार ताक्लाकोट करिब ३० किलोमिटर दूरीमा छ भने हिल्सादेखि सिगात्सेसम्म करिब ७०० किलोमिटर दूरी रहेको अवधारणापत्रमा उल्लेख छ।

यो सडक कोहलपुरमा एसियन हाइवे सञ्जालसँग जोडिन्छ। त्यस्तै, दैलेखको साइखोलामा मध्यपहाडी राजमार्ग, सुर्खेतको बड्डीचौरमा मदन भण्डारी राजमार्ग, कोहलपुरमा पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्जमा हुलाकी राजमार्गसँग जोडिनेछ।

यसले कर्णालीलाई देशका प्रमुख राजमार्गसँग जोड्दै अन्तरदेशीय व्यापारका लागि वैकल्पिक मार्गको सम्भावना सिर्जना गर्नेछ।

हाल जमुनाहादेखि नेपालगञ्जसम्म भारततर्फको ६ किलोमिटर सडक, नेपालगञ्जदेखि कोहलपुरसम्म १६ किलोमिटर चार लेन कालोपत्रे सडक, कोहलपुरदेखि सुर्खेतसम्म ६८ किलोमिटर र सुर्खेतदेखि खुलालुसम्म १३५ किलोमिटर कालोपत्रे सडक रहेको सडक विभागको अवधारणापत्रमा उल्लेख छ।

जलविद्युत्, पर्यटन र जडीबुटीको बजार विस्तार

कर्णाली करिडोर निर्माणले सडक पहुँच विस्तारसँगै जलविद्युत्, पर्यटन, कृषि र जडीबुटी क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कर्णाली, मुगु कर्णाली, फुकोट कर्णाली तथा भेरी–बबई बहुउद्देश्यीय आयोजनाजस्ता जलविद्युत् तथा पूर्वाधार आयोजनामा आवश्यक निर्माण सामग्री र उपकरण ढुवानी सहज हुने अपेक्षा छ।

त्यस्तै, रारा ताल, बडिमालिका, रामारोशन, अपि हिमाल, लिमीलाप्चा उपत्यका तथा कैलाश मानसरोवर क्षेत्रसम्म पर्यटकीय पहुँच विस्तार गर्न करिडोर महत्वपूर्ण हुने अवधारणापत्रमा उल्लेख छ।

यार्सागुम्बा, पाँचऔँले, च्याउ तथा अन्य जडीबुटी, घिउ र पशुपालनजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन सडकले सहजता ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सिर्जना र स्थानीय युवाका लागि उद्यमशीलताको अवसर बढाउने लक्ष्य पनि राखिएको छ।

सडक विस्तारपछि कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।

खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुनुका साथै बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला उद्धार तथा राहत परिचालनमा समेत सहयोग पुग्ने अवधारणापत्रमा उल्लेख छ।

चीनको अनुदान सहयोगमा निर्माण गर्ने प्रस्ताव

कर्णाली करिडोरको चार लेन सडक स्तरोन्नति चीनको अनुदानमा निर्माण गर्ने प्रस्ताव गरिएको छ। अवधारणापत्रअनुसार तिब्बतको डिङ्गे काउन्टीबाट आर्थिक, प्राविधिक तथा निर्माण सहयोग जुटाउने गरी अनुदानमा आधारित कार्यान्वयन मोडेल प्रस्ताव गरिएको छ।

प्रस्तावमा नेपालले जग्गा प्राप्ति, पुनर्वास व्यवस्थापन, विद्युत् पोल, खानेपानी तथा सिँचाइ संरचना स्थानान्तरण र प्रशासनिक तथा स्थानीय तहको समन्वय गर्ने जिम्मेवारी लिने उल्लेख छ।

चीनले भने २४६ किलोमिटर सडक र पुल निर्माणका लागि आर्थिक सहयोग, उन्नत प्रविधि, प्राविधिक जनशक्ति तथा निर्माण विधि उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको कर्णाली करिडोरलाई समयमै सम्पन्न गर्न छुट्टै कार्यविधि तथा मापदण्ड बनाउन र पर्याप्त बजेट सुनिश्चित गर्न पनि अवधारणापत्रले सुझाव दिएको छ।

कर्णालीका दुर्गम हिमाली जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने र भारत–चीनबीचको व्यापारिक सम्पर्क विस्तार गर्ने लक्ष्य बोकेको यो आयोजना कार्यान्वयन भए कर्णालीको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ कार्तिक १५ गते शनिवार ०८:४८
प्रतिक्रिया

थप समाचार

कहिले सकिन्छ साँगा–धुलिखेल सडकको निर्माण?

काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ। थपिएको एक वर्षको समयसीमाभित्र सम्पूर्ण सडक बिस्तार नसकिएपछि मुख्यमुख्य काम सक्नेगरी...

जनकपुरधाम–अयोध्या रेल अन्तिम चरणमा, बालेन र मोदीले उद्घाटन गर्ने

जनकपुरधाम: जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भम्रणको क्रममा दुवै देशका प्रधानमन्त्रीले...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना