सफलताको मानक के हो? मनग्य पैसा, ठूलो कम्पनी वा समाजमा सुनाम? यदि, यी नै सफलता नाप्ने परिचायक हुन् भने त्यो सफलता लोकराज शर्माले उहिल्यै हासिल गरिसके।
२१ वर्ष युरोप बसाइँ। इन्जिनियरिङदेखि, डिजिटल पेमेन्ट कम्पनी र हजारौँलाई उद्यमी बनाउने ‘एनआरएन लघुवित्त’सम्मको विशाल व्यापारिक ‘पोर्टफोलियो’। डेनमार्कमा इन्टरनेसनल ट्रेडिङ र इनर्जी कम्पनीदेखि नेपालमा मातृभूमि लघुवित्त, नेपाल पेमेन्ट सोलुसन, सम्पन्न क्यापिटल, डिजिहब, लेखापाल, रोतेक, कोको एग्रो, बिल्डर ३६०, डिजिटल किसान एप, ग्लोहब जस्ता दर्जनौँ कम्पनी सञ्चालन गरेका उनी आफ्ना उपलब्धिहरू गनेर मख्ख पर्दैनन्।
बरु बेचैन हुन्छन्।
स्वदेश फर्केर दर्जनौँ क्षेत्रमा लगानी गर्दा पनि नेपालको राज्य प्रणाली, स्रोतमाथिको सीमित वर्गको कब्जा र आम मानिसले अवसर नपाउने संरचना देखेर उनको मुटु भित्रैदेखि निचोरिन्छ। भन्छन्, ‘सबै कुरा हुँदाहुँदै पनि म यहाँ केही न केही चीजले भताभुंग भएर बसिरहेको छु।’
०००
नेपाली भाषा र खस सभ्यताको उद्गमस्थल जुम्लाको सिँजामा कक्षा ६ मा पढ्दै गरेका शर्माले एकदिन घोषणा गरे, ‘म क्लब खोल्छु।’
२०५० को दशक। त्यो युवा तथा बाल क्लब खोल्ने, भित्ते पत्रिका लेख्ने, चन्दा उठाएर बुद्धिचाल, हाजिरीजवाफ, भलिबल प्रतियोगिता, बाटोघाटो सफा गर्ने र गाउँलेलाई एक ठाउँमा जम्मा गरेर नाटक देखाउने समय थियो। काठको फलेकमा चुनले संसार बदल्ने अठोटका साथ क्लबको नाम लेखिन्थ्यो। न मोबाइलको लत, न इन्टरनेटको कचकच।

त्यही हुटहुटीले शर्माले केही साथीभाइ जुटाए। बुवासँग पाँच सय रुपैयाँ चन्दा मागे र नाम राखे—‘रोप्नी क्लब।’
गाउँमा सामाजिक संस्था खोल्ने प्रयास पहिले पनि भएका थिए। स्रोत र साधन भएका अग्रजहरूले समेत त्यस्तो संस्था टिकाउन सकेका थिएनन्। तर शर्मालाई त्यसले रोकेन।
पाँच सय रुपैयाँ त्यतिबेला ठूलो रकम थियो। पछि गाउँका अरू मानिसले पनि ३००, ४००, ५००, १०० रुपैयाँ गर्दै सहयोग गरे। केही रकम जम्मा भएपछि क्लबले युवा तथा बालबालिकाका लागि आवश्यक सामग्री जुटायो। विस्तारै गाउँका ठूला दाइ र अंकलहरू पनि सदस्य बन्न थाले। आफूभन्दा ५–१० वर्ष जेठा मानिसहरू सदस्य बन्दै गएपछि सानो उमेरका शर्मालाई असहज पनि भयो। अनि उनले नेतृत्व छाडे, निर्माताका रूपमा सक्रिय भए।
काठमाडौँ आएपछि उनले विभेद महसुस गरे। जुम्लामा ८ कक्षासम्म पढेका उनलाई जुम्लाबाट आएको भन्दै सरकारी स्कुलले भर्ना लिन मानेन।
त्यही क्लबबाट गाउँमा पुल बन्यो, मन्दिर बन्यो। क्लबको रकम सकिँदै गएपछि बाँकी रकम घर–घरमा बाँडियो।
आज शर्मा आफ्नो नेतृत्व, उद्यमशीलता र सामाजिक विश्वासको जरा खोज्दा त्यही बाल्यकालको संस्थासम्म पुग्छन्।
‘आज जुन मेरो नेतृत्व क्षमता, उद्यमशीलता र सामाजिक विश्वास छ, त्यसको निर्माण गर्ने जग त्यही संस्था थियो,’ उनी सम्झन्छन्।
शर्माको पारिवारिक पृष्ठभूमि राम्रो थियो, बुवा ५ जना हजुरबाहरूका एक मात्रै छोरा र राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड पाएका चर्चित ज्योतिषी। दरबारसम्म पहुँच थियो। तर उनको जीवन सधैँ एकै गतिमा रहेन। उनी १५ वर्षको हुँदा बुवाको निधन भयो।
‘बुवा बितेपछि कान्छो भए पनि म सानैदेखि गम्भीर स्वभावको भएकाले आर्थिक र व्यावहारिक गतिविधिको जिम्मा मेरो काँधमा आयो,’ उनी भन्छन्, ‘बुवाले मेरो नाममा राष्ट्रिय वाणिज्य बैंकमा मलाई थाहै नदिई केही पैसा जम्मा गरिदिनुभएको रहेछ, त्यो रकमले पछि काठमाडौँमा मेरो उच्च शिक्षामा ठूलो सहयोग गर्यो।’
काठमाडौँको विभेद र युरोपको उडान
जाडो याममा स्कुल बन्द हुन्थ्यो। उनी बुवासँगै बेसी झर्थे। गर्मीमा लेक उक्लन्थे। यसरी उनको पढाइ प्रभावित भयो। बिस्तारै गाउँमा माओवादीको प्रभाव पनि बढ्दै गएको थियो।
‘बुवालाई डर होइन,पढ्ने केटो यहाँ यसरी बस्नुभन्दा काठमाडौँ जाओस् भनेर मलाई पठाउनुभयो,’ ८ कक्षापछि काठमाडौँ आएको सम्झिँदै उनी भन्छन्, ‘त्यसको केही समयमै हृदयघातबाट बुवाको निधन भयो।’
काठमाडौँ आएपछि उनले विभेद महसुस गरे। जुम्लामा ८ कक्षासम्म पढेका उनलाई सरकारी स्कुलले भर्ना लिन मानेन। ‘क्षेत्रपाटीको शान्ति शिक्षा विद्यालयमा भर्ना हुन गएको ८ कक्षा दोहोर्याउन, सके त ७ क्लासबाटै सुरु गर्न भनियो,’ उनी सम्झिन्छन्।
तर उनले चुनौती दिँदै भने– मलाई ३ महिनाको ‘कन्डिसनल एडमिसन’ दिनुस्, कुनै विषयमा फेल भएँ भने निकालिदिनुहोला।
त्यसपछि बल्ल आफूले भर्ना पाएको उनी बताउँछन्। जुम्लाबाट आएको भन्दै स्कुलमा भर्ना नदिने समाजको संकीर्ण सोचलाई उनले चुनौती दिँदै चिरे पनि। उपत्यकाव्यापी हाजिरीजवाफ प्रतियोगितामा दोस्रो भए। डा. केशरबहादुर रायमाझीको हातबाट पुरस्कार पाए।
एसएलसीपछि शर्माले थापाथली इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा (३ वर्षे) सके। साथीहरूको लहैलहैमा ग्रीसको भिसाका लागि आवेदन दिए। करिब ७० जनाले आवेदन दिएकोमा उनीसहित दुईजनाको मात्रै भिसा आयो।
ग्रीस पुगेपछि उक्त देश संकटमा जान लागेको बुझेपछि उनी डेनमार्क हान्निए। इन्टरनेसनल बिजनेस एकेडेमीमा अध्ययन गर्दा उत्कृष्ट विद्यार्थी बनेका उनले पछि बेलायतबाट अन्तर्राष्ट्रिय व्यवसाय व्यस्थापनमा स्नातकोत्तर र डेनमार्कबाट नेतृत्वसम्बन्धी डिप्लोमा हासिल गरे।
डेनमार्कमा आर्थिक रूपमा स्थापित गर्न आफूले ‘गे बार’मा काम गर्नेदेखि विद्यार्थीलाई पढाउने ‘स्टडी कोचका रूपमा काम गरेको उनी बताउँछन्।
‘गे बारदेखि क्लिनिङसम्मका काम गरेँ। एक–डेढ वर्षपछि म कलेज भर्ना भएँ। पहिलो सेमेस्टरमै १२ मा पूर्ण टप गरेँ र स्कलरशिप पाएँ। म त्यहाँ एक किसिमको सेलिब्रिटी जस्तै भएँ। त्यसपछि मैले विद्यार्थीहरूलाई ‘स्टडी कोच’ भएर पढाउन थालेँ,’ उनी डेनमार्कको सुरुवाती संघर्ष सम्झिन्छन्, ‘पढ्दा पनि स्कलरशिपको पैसा आउने र पढाउँदा पनि आउने भयो। २० मिनेट पढाएको २० हजारदेखि ५० हजार रुपैयाँसम्म आउँथ्यो।’
उद्यमशीलता र कम्पनीको विस्तार
सन् २००७ तिर शर्माले डेनमार्कमा ‘इन्टरनेसनल ट्रेडिङ’ कम्पनी खोलेर व्यवसाय सुरु गरे। नेपालबाट हिन्वा वाइन, घिउ र फेल्टका सामान युरोप लैजान थाले।
‘मेरो ‘फेल्ट स्नो’ भन्ने ब्रान्ड अझै पनि युरोपमा गइरहेको छ,’ उनी भन्छन्।
त्यसपछि उनले ऊर्जा क्षेत्रमा हात हाले।
‘डेनमार्कमा अहिले मेरो मुख्य व्यवसाय इनर्जी सेक्टरमा छ। डेनमार्कमा हाम्रो पब्लिक लिमिटेड कम्पनी छ। त्यहाँका साझा यातायात जस्ता पब्लिक गाडीहरूले हाम्रो इनर्जी कन्जुम गर्छन्,’ उनी भन्छन्, ‘हामीसँग १२ मेगावाटभन्दा बढीको ब्याट्री स्टोरेज सिस्टम छ। ऊर्जाको माग कम भएको बेला स्टोर गर्ने र माग उच्च भएको बेला बेच्ने प्रविधिमा काम गरिरहेका छौँ।’
होटलहरूको डिजिटलाइजेसन गर्ने सफल सफ्टवेयर, जसले नेपालका ६५ प्रतिशत होटल समेट्थ्यो। शर्माले त्यसमा पनि रहेर काम गरे।
व्यवसाय हुँदै उनी एनआरएन अभियानमा पनि जोडिए। सन् २०१५ मा शेष घले अध्यक्ष हुँदा उनी आईसीसीको पदाधिकारी थिए। त्यसवेला उनले ‘सोसियल अन्टरप्रेनरसिप कमिटी’ खोल्ने प्रस्ताव राखे। त्यसको अध्यक्ष बने। उक्त कमिटीको उद्देश्य थियो युवाहरूलाई बिनाधितो पैसा, पुँजी र प्रविधि दिएर उद्यमी बनाउने।
त्यसपछि ग्लोबल युथ कन्फरेन्समार्फत सरकारसँग समन्वय गरी ‘एनआरएन लघुवित्त’को स्थापना गरे। त्यसलाई पछि १० वटा फाइनान्स मर्ज गरेर ‘मातृभूमि लघुवित्त’ बनाएको उनी बताउँछन्। २ लाख सदस्य रहेको मातृभूमि लघुवित्तले २५० शाखामार्फत १२ अर्बभन्दा बढी ऋण प्रवाह गरेको छ। हजारौँ साना उद्यमीले बिना धितो ऋण पाइरहेका छन्।
‘यसमा करिब एघार सय कर्मचारी र १२–१३ अर्बको पोर्टफोलियो छ। आठ महिनाअघि मैले यसको अध्यक्ष पद छोडेँ,’ उनले भने।
अहिले उनी फिनटेक र प्रविधिको क्षेत्रमा सक्रिय छन्। नेपालमा फन्ड ट्रान्सफरको शुल्क ६०–७० रुपैयाँसम्म हुँदा उनले ‘नेपाल पेमेन्ट सोलुसन’मार्फत १ रुपैयाँमा सेवा सुरु गरेका थिए। ‘अहिले यो पब्लिक लिमिटेड कम्पनी हो र हामी दैनिक झन्डै ३ अर्बको सेटलमेन्ट गर्छौँ,’ उनी भन्छन्, ‘ट्रान्जेक्सन भोलुममा मासिक रूपमा ३० प्रतिशत वृद्धि हुँदै गएको छ। नेपालमा आउने ६० देखि ७० प्रतिशत रेमिट्यान्स हामी नै प्रोसेसिङ गर्छौँ।’
नेपाल पेमेन्ट सोलुसनले नेपालको करिब ९० प्रतिशत बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी केन्द्रीय सेवा तथा भुक्तानी हबका रूपमा काम गरिरहेको उनी बताउँछन्। कम्पनीको प्रविधि र व्यावसायिक मोडलका कारण कारोबार लागत २० गुणसम्म घटेर डिजिटल भुक्तानी थप सस्तो र सहज बनेको उनको भनाइ छ।
उनी ‘सम्पन्न क्यापिटल’ (इन्भेस्टमेन्ट बैंक) को मेजोरिटी सेयर होल्डर र बोर्ड सदस्य पनि हुन्। यसबाहेक सेयर बजारलाई पूर्ण डिजिटाइजेसन गर्ने टीएमएस सिस्टम ‘डिजिहव’ को स्थापना पनि उनैले गरेका हुन्। तर साढे दुई वर्षअघि उनले डिजीहब बिक्री गरिसकेका छन्।
होटलहरूको डिजिटलाइजेसन गर्ने सफल सफ्टवेयर, जसले नेपालका ६५ प्रतिशत होटल समेट्थ्यो। शर्माले त्यसमा पनि रहेर काम गरे।
यसैगरी नेपालमा पसलदेखि कर्पोरेटसम्मले प्रयोग गर्न सक्ने ओम्नीच्यानल ईआरपी सिस्टम ‘लेखापाल’ सञ्चालन गरिरहेका छन्। यसको प्रबन्धक कम्पनी डेनमार्कको ‘ग्लोहब’ हो। जुन अहिले युरोप, अफ्रिका र नेपाल गरी ७ वटा देशमा सञ्चालनमा छ।

उनका कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा समेत सफ्टवेयर निर्यात गर्दै आएका छन्, जसले नेपालमा विदेशबाट सफ्टवेयर आयात गर्नुपर्ने आवश्यकता र त्यसमा हुने खर्च घटाउन सहयोग गरेको उनी बताउँछन्।
उनका अनुसार उक्त प्रविधिबाट तीन महिनाभित्र घर निर्माण गर्न सकिन्छ। कर्नालीमा स्थानीयवासीको सहयोगमा काठ संकलन गरी रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरिएको छ।
वातावरण र रिसाइक्लिङको क्षेत्रमा कुलेखानीमा ‘रोतेक’ फ्याक्ट्री र रोल्पामा ‘कोको एग्रो’ मार्फत उडन फ्याक्ट्री पनि उनले सञ्चालन गरिरहेका छन्। यसबाहेक उनी जनरल इको टेक (जीईटी) मार्फत ई–वेस्ट रिसाइक्लिङमा पनि सक्रिय छन्, जहाँ देशभरबाट संकलित प्रयोगविहीन मोबाइललगायत विद्युतीय सामग्री ‘रिसाइकल’ गरिन्छ।
निर्माण क्षेत्रमा डेनमार्कको वातावरण मन्त्रालयसँग मिलेर कोटेश्वरमा ‘बिल्डर ३६०’ कम्पनी छ, जसले रोबोट र थ्रीडी प्रिन्टरको प्रयोग गरी घर र फर्निचर प्रिन्ट गर्छ।
उनका अनुसार उक्त प्रविधिबाट तीन महिनाभित्र घर निर्माण गर्न सकिन्छ भने कर्नालीमा स्थानीयवासीको सहयोगमा काठ संकलन गरी रोजगारी र आम्दानीको अवसरसमेत सिर्जना गरिएको छ।
‘नेपालमा हाइ लेभलको ब्युरोक्रेसी, पोलिटिसियन र बिजनेस पिपुलबीच डरलाग्दो अन्तरघुलन छ। यहाँ सीमित व्यापारीहरूको सिन्डिकेट छ। जो राइज हुन खोज्छ, उसलाई सिध्याउन षड्यन्त्र रचिन्छ।’
उनले कृषि क्षेत्रमा कृषि विकास बैंकसँग मिलेर ‘डिजिटल किसान एप’ र किसान क्रेडिट कार्ड लन्च गरेका थिए। जसबाट हालसम्म करिब ४ अर्ब रुपैयाँ किसानसम्म पुगेको छ। यसैगरी काठमाडौँका उत्कृष्ट शिक्षकले जुम्लाका विद्यार्थीलाई पढाउने परिकल्पनासहित ‘डिजिटल स्कुल’ पनि उनले सञ्चालन गरिरहेका छन्।
राज्य प्रणाली र ‘क्रोनी क्यापिटलिज्म’
शर्मा दुई वर्षअघिसम्म कर्नालीबाट यार्चागुम्बा सिधै खरिद गरेर विदेश निर्यात गर्ने ठूलो निर्यातकर्ता थिए। तर, अहिले छोडिदिए। नेपालमा राज्य, व्यवसायी र पब्लिक कसैमा पनि दूरदर्शिता नभएको उनी बताउँछन्।
‘उत्पादकत्व घट्यो, किसानको मेहनत बढ्यो र सोर्समै यार्चाको मूल्य अत्यधिक बढ्यो। उता मुख्य बजार चीनमा भने आफैं फार्मिङ हुन थाल्यो, जसले गर्दा गुणस्तर बढ्यो तर मूल्य घट्यो,’ उनी भन्छन्, ‘बजार सन्तुलन नहुँदा पछिल्लो दुई वर्ष घाटा भएपछि मैले यो व्यवसाय छोडेँ। नेपालमा गलैँचा र पश्मिनाको व्यापार जसरी एक्कासी ओरालो लाग्यो, यार्चामा पनि त्यही भयो।’
शर्माले आफ्नो कम्पनीमार्फत १० हजार मान्छेलाई रोजगारी दिने अभियान सुरु गरेका थिए। तर, २१०० जना पुगेपछि आफैं थाकेको महसुस भएको उनी बताउँछन्।
‘मेरो अफिसमा ६५०–७०० जना स्टाफले एउटै फ्लोरमा काम गर्थे, ब्रेकमा निस्किँदा जुलुस निस्किए जस्तो हुन्थ्यो। म आफ्नै कम्पनीको सीईओ भए पनि मभन्दा ३० गुणा बढी तलब म मेरा अन्य सीईओहरूलाई दिन्छु,’ उनी भन्छन्, ‘म डेनमार्क जस्तो संसारकै सबैभन्दा कम भ्रष्टाचार हुने देशमा २१ वर्ष बसेँ, मेरो ब्रेन त्यहीँ विकास भयो। अहिले संसारकै उच्च भ्रष्टाचार हुने देशमा काम गर्न मलाई कति गाह्रो भइरहेको छ, अनुमान गर्न सक्नुहुन्छ। यहाँको मुख्य समस्या भनेको सबै मानिसको ‘करप्टेड माइन्डसेट’ हो।’
यहाँ पैसा कमाउन जे पनि गर्ने र पछि धर्मकर्म गर्ने प्रवृत्ति भएको उनी बताउँछन्।
‘नेपालमा हाइ लेभलको ब्युरोक्रेसी, पोलिटिसियन र बिजनेस पिपुलबीच डरलाग्दो अन्तरघुलन छ। यहाँ सीमित व्यापारीहरूको सिन्डिकेट छ। जो राइज हुन खोज्छ, उसलाई सिध्याउन षड्यन्त्र रचिन्छ,’ उनी भन्छन्, ‘आज राज्यको स्रोत, बैंक, इन्स्योरेन्स र उद्योग सबै एउटै व्यक्तिको हातमा छ। हामी पूर्ण रूपमा ‘क्रोनी क्यापिटलिज्म’मा छौँ।’
यस मोडलले देशको स्रोतसाधनको दोहन मात्र गर्ने उनी बताउँछन्। देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्योगहरू मर्दै गएको बुझाइ उनको छ।
उनी भन्छन्, ‘यस्तो सिन्डिकेट र प्रणाली देख्दा कहिलेकाहीँ फ्रस्ट्रेसन हुन्छ। तर, हामीले नगरे कसले गर्ने? जतिसुकै अप्ठ्यारो भए पनि देशका लागि केही गर्नुपर्छ भनेर म आफ्नै ढङ्गले लडिरहेको छु।’


