यदि तपाईँ पिज्जाको पारखी हुनुहुन्छ भने ‘तुफानी पिज्जा’बारे सम्भवतः सुन्नुभएकै होला, वा त्यहाँको स्वाद चाख्नुभएकै होला। तर, कल्पना गर्नुहोस् त– कुनै समय सडकको फुटपाथमा लिलामीका पुराना कपडा बेच्ने एक बालकले यहाँसम्मको यात्रा कसरी तय गर्यो होला? शून्यबाट सुरु भएको उसको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
गफगाफका क्रममा कुनै मनीषीले जस्तो उत्प्रेरक प्रवचन दिने तुफानी पिज्जाका सञ्चालक माधव नेपालको जीवन–भोगाइ र संघर्ष, सानातिना ठेसहरूमा हरेश खाने धेरै युवाजमातका लागि प्रेरणा हुनसक्छ।
गफगाफका क्रममा कुनै मनीषीले जस्तो उत्प्रेरक प्रवचन दिने तुफानी पिज्जाका सञ्चालक माधव नेपालको जीवन–भोगाइ र संघर्ष, सानातिना ठेस लाग्दा हरेस खाने धेरै युवाका लागि प्रेरणा हुनसक्छ।
‘म न घरबाट २ रुपैयाँ बोकेर आएको हुँ, न ससुरालीतिरबाट। म एकदमै सामान्य प्रोफाइलबाट उठेँ। साथीभाइको मन जितेर ‘खै तपाईँको गल्लामा कति छ दिनुस् त, मैले एउटा काम आँटेँ, गर्नुपर्यो’ भनेर ऋणसापटी गरेर व्यवसाय सुरु गरेको थिएँ,’ उनी सम्झिन्छन्।
तर होटल व्यवसाय सुरु गर्ने आँट गनुपूर्व उनले धेरै हण्डर–ठक्कर खाइसकेका थिए, जसले उनलाई भित्रैदेखि जब्बर बनाएको थियो।
नेपालले ४ कक्षासम्म नुवाकोटमै पढे। ५ कक्षा पास गरेपछि उनलाई लाग्यो, ‘जसरी पनि पैसा कमाउनुपर्ने रहेछ। कामै गर्ने भएपछि समय किन बर्बाद गर्ने? अनि काम गर्न सुरु गरेँ।’
उनी यसरी सानैदेखि कामतिर लाग्नुको कारण थियो पारिवारिक आर्थिक पृष्ठभूमि। सामान्य पारिवारिक पृष्ठभूमिका उनले काठमाडौँको फुटपाथलाई नै उनले आफ्नो पाठशाला बनाए।
‘विदेशमा प्रयोग भएर आएका पुराना कपडा, जसलाई लटको माल भनिन्थ्यो। चाबहिलको फुटपाथमा त्रिपाल ओछ्याएर बेच्न थालेँ,’ उनी सम्झिन्छन्, ‘दिनमा हजार–पाँच सय कमाउने लक्ष्य हुन्थ्यो।’
सानो फुटपाथमा कपडा बेच्न थालेका उनलाई त्यो पेसामा त्यति सहज भने भएन। कहिले महानगरले उठाएर लगिदिन्थ्यो त कहिले सामान नै खराब परेर मूल्य उठाउन पनि गाह्रो।
दिनभरि घामपानी नभनी २०–५० रुपैयाँ नाफा राखेर कपडा बेच्थे, तर जति पसिना बगाए पनि प्रतिफल हात लागेन। उनका साइँला दाइ राजेन्द्रप्रसाद इलेक्ट्रिसियनको काम गर्थे। त्यसपछि केही समय दाइसँगै हिँडेर नेपालले त्यो इलेक्ट्रिसियनको काम सिके।
यस बीचमा उनले सानातिना काम गर्दै पैसाभन्दा धेरै कमाए साथीभाइ। साथीभाइको विश्वास कमाए। उनी भन्छन्, ‘पैसा भनेको तलमाथि भैराख्ने कुरा हो। तर, त्यो भन्दा महत्त्वपूर्ण सम्बन्ध हो।’
हुन पनि जब उनले आफ्नै व्यवसाय गर्छु भनेर आँट गरेर साथीहरूले उनलाई सहयोग गरे। ऋण सापटी गरेर २०६९ सालमा नयाँ बसपार्कमा एउटा सानो खाजा पसल सञ्चालन गरे। लगानी थियो १८ लाख। देशैभरका मानिसहरूको आवतजावत हुने र वैदेशिक रोजगारमा जाने/फर्किनेको चहलपहल हुने भएकाले उनले उक्त स्थान रोजेका थिए।
तीन वर्ष खाजा पसल चलाएपछि उनलाई लाग्यो अब बस्ने/खाने व्यवस्थासहितको होटल सञ्चालन गर्नुपर्छ। भूकम्पपछि कोटेश्वरमा होटल चलाए। होटल व्यवसाय राम्रै भइरहेको थियो, तर २४सै घण्टा खटिनपर्ने भएकाले एक्लै व्यवस्थापन गर्न कठिन भयो। त्यसपछि बर्गर हाउसका बसन्त तामाङ र चिकेन स्टेसनका निकेश ताम्राकारसँगको सहकाय गरेर रेस्टुरेन्टतिर लागे। व्यवसाय निकै राम्रो थियो, तर माधवको स्वभावसँग भने त्यो क्षेत्र मिलेन। मदिरा पिएका ग्राहकसँगको लफडा, पैसा उठाउनुपर्ने झमेलाजस्ता टाउको दुखाइका कारण त्यहाँबाट अलग्गिने निर्णयमा पुगे।
अनि स्याङ्को कट्टीरोलका सञ्चालक ज्ञानप्रसाद राईलाई भेटेर आउटलेट लिए। त्यसवेला उनले राईलाई भनेका थिए, ‘म एक/दुईटा होइन, २५ वटा आउटलेट खोल्छु।’
विभिन्न चोक र घुम्तीहरूमा पुगेर उपयुक्त स्थानको खोजी गरे। नयाँ बानेश्वरबाट सुरु गरेर काठमाडौँ उपत्यका तीन जिल्लामा विभिन्न स्थान गरेर १३ ठाउँमा उनले आउटलेट खोले। ‘आफैँ बसेर मिस्त्री लगाएर आउटलेट तयार गरेँ। खानेकुरा म आफैँ बनाउन सक्छु। यसरी दुई–तीन महिनाको फरकमा थप एउटा आउटलेट बन्दै गयो,’ उनले भने।
पैदल हिँड्ने, चहलपहल हुने र कार्यालयहरू भएका स्थान उनले लोकेसनका रूपमा रोजेका थिए। त्यस्ता स्थानमा धेरै रेस्टुरेन्ट सञ्चालनमा थिएनन्। त्यो देखेर कतिपयले त्यहाँ व्यवसाय सुरु नगर्न सुझाव पनि दिन्थे। तर उनी ढुक्क थिए। भन्छन्, ‘मैले हेरेका लोकेसनहरू ८० प्रतिशत भन्दा धेरै नै सक्सेस भए। कसैलाई एकदमै फेलियर हुन्छ भनेको लोकेसन पनि मैले एकदमै सक्सेस गरेको थिएँ।’
कट्टीरोल हुँदै अहिले उनी ‘तुफानी पिज्जा’लाई ब्रान्ड बनाउने तयारीसाथ अघि बढेका छन्। सहकर्मीहरूको साथ, सहयोग र हौसलाकै कारण ‘तुफानी पिज्जा’सम्मको यात्रा सम्भव भएको उनी बताउँछन्।
तुफानी पिज्जामा नेपालसहित मनमोहन रिमाल र टीकाराम कार्की जोडिएका छन्।’तपाईँ खत्रै व्यापार गर्नुस्, तपाईँको अकाउन्टिङ राम्रो छैन भने तपाईँ सस्टेनेबल हुनुहुन्न। तपाईँको खाना गतिलो छैन भने केही समयलाई खतरा हुन्छ, लामो समय जाँदैन। खाना पनि राम्रो, अकाउन्टिङ पनि राम्रो तर सर्भिस छैन भने त्यो बिजनेस पनि लामो समय जाँदैन,’ उनले भने, ‘यस व्यवसायमा हामी तीनजना साथीहरू जोडिएका छौँ। म खानाको एक्सपिरियन्स भएँ, सर्भिसमा मनमोहन र अकाउन्टिङमा टीकाराम हुनुहुन्छ।’
उनले ‘स्लोगन’ बनाएका छन्– टेस्ट, हाइजिन र फास्ट।

नेपालीको स्वभाव १० मिनेटमा तयार हुन्छ भन्दा नकुर्ने अनुभव उनको छ। ‘चिया राम्रोसँग उमाल्न पनि समय लागिहाल्छ। तर १० मिनेटभन्दा खाना खान कुर्ने स्वभाव कमै रहेको पाएँ। त्यसैले टेस्ट र हाइजिनका साथै फास्ट पनि मैले प्लानिङ गरेँ,’ उनले भने।
हाल काठमाडौँमा नयाँ बानेश्वर र बागबजारमा रहेको ‘तुफानी पिज्जा’ यी दुई ठाउँमा मात्रै सीमित नराखी काठमाडौँ उपत्यकाका विभिन्न स्थान र उपत्यकाबाहिर बुटवल, चितवन, पोखरामा पनि विस्तार गर्ने तयारी रहेको नेपाल बताउँछन्।
उनी हतारमा भने छैनन्। किनकि उनी सचेत छन्, चाँडो आउटलेट विस्तार गरेर गुणस्तर खस्काउनुभन्दा कम आउटलेटमा गुणस्तरीय सेवा दिनुपर्नेमा। ब्रान्डको साख जोगाउनेगरी बिस्तारै ‘तुफानी पिज्जा’लाई विस्तार गर्दै जाने उनले बताए।
कठिन हुन्छ छोटो बाटो
नेपालले कट्टीरोलमा राम्रै गरिरहेको वेला विश्वव्यापी कोरोना महामारी आयो। व्यापार व्यवसाय बन्द भए। बिस्तारै लकडाउन खुल्यो। बजार चलायमान हुन थाल्यो। तर कोरोनाका कारण नेपाल भने व्यवसाय भने ह्वात्तै ओरालो लागिसकेका थिए।
व्यवसायबाट उनले सानो घडेरी जोडेका थिए। कोरोनाताका त्यो डुब्यो। कमाएको पैसा सकियो। थप ६७ लाख ऋणमा पुगेका थिए उनी। त्यसपछि नेपाल छिटो पैसा कमाउन र यहाँ भएको घाटालाई मुनाफामा बदल्न दुबई गएर व्यवसाय गर्ने निर्णयमा पुगे।
‘पहिलो कोरोना सकिएपछि २०२०/२१ तिर दुबई गएँ, रेस्टुरेन्ट खोल्नका लागि। कम्पनी खोलेँ,’ उनी सम्झिन्छन्, ‘साथीहरूले एउटा सीमित लगानी जुटाए पुग्छ, बाँकी यतैबाट ऋण लिएर कमाएर तिरे पुग्छ भन्नुभयो। सजिलो बाटोबाट कमाएर तिर्ने, कर पनि लाग्दैन भन्नुभयो। तर हामीजस्तो सानो लगानीबाट सुरु गर्नेका लागि रहेनछ दुबई। आजकाल मलाई कसैले सजिलो बाटो भन्यो भने शंका लाग्छ।’
उनी सजिलो बाटोबाट हिँड्नु सबैभन्दा कठिन हुने बताउँछन्।
‘एक त सानो लगानीबाट त्यहाँ व्यवसाय गर्ने स्थिति रहेन। दोस्रो त्यहाँ प्राकृतिक जीवन नै भेटिनँ मैले। म विदेश जाँदा म मेरा भाइ, साथी, बुवाआमा, छिमेकी, आफन्त, दिदीबहिनी सबै त लिएर जान सक्तिनँ। त्यसो हुँदा जीवनको एउटा महत्वपूर्ण पाटो नै छुट्ने रहेछ। फर्किएँ।’
६७ लाख ऋण यतै थियो, दुबई गएर १२ लाख ऋण थपेर फर्किए उनी। अहिले उनले आफ्नै एउटा ब्रान्ड बनाएका छन्। दुई तुफानी पिज्जासहित पेवा हस्पिटालिटी, पेवा फुड्स, स्वाद गुलेली, कट्टी रोललगायत व्यवसायमा जमेका नेपालले ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। उनी भन्छन्, ‘जीवनमा उतारचढावहरू आउँछन्। व्यवसाय तलमाथि भैरहन्छ। तर सबैभन्दा ठूलो कुरा हो आत्मविश्वास र सम्बन्ध। यही आत्मबल र साथले म फेरि उठेँ।’
नेपालमा व्यवसायमा राम्रो सम्भावना देखे पनि उनी एउटा कुरामा भने चिन्ता व्यक्त गर्छन् – नयाँ पुस्ता।
‘अहिलेको जेनजी भाइबहिनीलाई सम्हालेर काम गराउनु बहुत च्यालेन्ज छ। फलामको चिउरा चपाए सरह हो ! ६ महिनादेखि वर्षदिनभन्दा कुनै पनि म्यानपावर टिक्दैन। उनीहरूको सपना विदेश जाने हुन्छ,’ उनी भन्छन्।
नेपालमा राम्रो सेवा र तलब दिएको कर्मचारी पनि विदेश गएको स्मरण गर्दै उनले भने, ‘वैदेशिक रोजगारी हाम्रो बाध्यता हो। तर कतिपय अवस्थामा भने यो रहर पनि भैदिएको छ। यता राम्रो सम्भावना भएका र राम्रो गरिरहेका मान्छेहरू पनि विदेशिएको मैले देखेको छु।’
उनी युवा पलायन रोकेर उनीहरूलाई कसरी नेपालमै उद्यमी बनाउन सकिन्छ भनेर गृहकार्य पनि गरिरहेका छन्। उनी भन्छन्, ‘कामदारलाई कसरी स्वामित्व दिने भन्ने छलफल चलिरहेको छ। काम गर्ने कर्मचारीलाई मात्रै फ्रेन्चाइज दिनेगरी पनि तयारी चलिरहेको छ।’


