काठमाडौँः छठ पर्व मनाउने समुदायलाई लक्षित गर्दै सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा सोमबारसमेत सार्वजनिक बिदा हुने जानकारी गराएको हो।
यसअघि सरकारले छठ पर्वका लागि एक दिन मात्रै सार्वजनिक बिदा दिएकोमा थप एक दिन बिदा दिने निर्णय गरेको हो। पछिल्लो समय छठ पर्व मनाउने समुदायबाट पर्वका लागि थप बिदा दिनुपर्ने माग हुँदै आएको थियो।
छठ पर्वको पहिलो दिन नहाय–खाय विधिबाट सुरु हुन्छ। दोस्रो दिन खरना गरिन्छ। तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुन्छ।
छठ पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने परम्परा छ। विशेषगरी तराई मधेश क्षेत्रमा धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।
सरकारको पछिल्लो निर्णयसँगै छठ पर्व मनाउने समुदायलाई धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुन थप समय मिल्ने भएको छ।


