काठमाडौं। नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर बनेको छ। डलरको भाउ घटेर शनिबार १५०.५६ रुपैयाँ कायम भएको छ। यसअघि डलरको भाउ निरन्तर उकालो लागेर १५५ रुपैयाँसम्म पुगेको थियो। एक वर्षयता डलर मजवुत भइरहेको थियो।
भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो। २०८३ असारको तुलनामा गत भदौमा डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशत अधिमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशत अवमूल्यन भएको थियो। २०८३ भदौमा डलर एकको खरिद विनिमय दर १५३.२४ रुपैयाँ पुगेको थियो। २०८३ असार मसान्तमा उक्त विनिमय दर १५३.७२ थियो।
नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले सोही आधारमा नेपाल रुपैयाँको मूल्य निर्धारण हुने गरेको छ। डलरसँग नेपाली रुपैयाँ बलियो वा कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्नुपर्ने कुरा उठेको छ। पूर्वअर्थमन्त्री रामेश्वरप्रसाद खनालको संयोजकत्वको उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले २०८१ चैत अन्तिममा बुझाएको प्रतिवेदनले भारुसँगको स्थिर विनिमयदरमा पुनरावलोकन गर्न सुझाएको छ।
अमेरिकाको भन्सारदर बढाएर विश्व अर्थतन्त्र खलबल्याउँदा यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित र भारतजस्ता उदीयमान मुलुकहरूमा पर्दै आएको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरू कमजोर बनेका थिए।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यतिबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउछन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई केही घाटा पनि हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर सिर्जना भए पनि समग्रमा डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर सस्तो हुदाँ अर्थतन्त्रका लागि फाइदा हुन्छ।
डलर सस्तिएपछि वस्तुको बजार भाउ घट्छ। आयात गरिने वस्तु सस्त हुन जान्छ। यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत घट्छ।
अमेरिकी डलर घट्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। डलरका कारण सरकारलाई वर्षेनी अर्बैं रुपैयाँ दायित्व थपिएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व कम हुन्छ। विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा कम दिनुपर्छ। लाभांश लैजानेलाई कम कम हुन्छ।
विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ घट्दा फाइदा हुन्छ। गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेशिएको थियो।
डलर महंगो हुँदा गत वर्षको तुलनामा मुलुकको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) आकार बढ्यो। प्रतिव्यक्ति आम्दानी तीन डलर घटेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ।
गत वर्ष कार्यालयले प्रतिव्यक्ति आम्दानी १५ सय १६ डलर अनुमान थियो। तर, चालू आर्थिक वर्षमा तीन डलर घटेर १५ सय १३ मा झरेको कार्यालयको तथ्यांक छ। जीडीपी बढेको अवस्थामा प्रतिव्यक्ति आम्दानी घट्नुमा डलरको मूल्यवृद्धि मुख्य कारण रहेको छ।


