सर्लाही: छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका लागि अन्त्य भएको छ। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनासहित चालकको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ।

मधेश प्रदेश ०३–००१ ज ००८ नम्बरको यात्रुवाहक विद्युतीय हाइस गाडी बिहीबार बिहान ५ः५५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

छठ पर्वको तयारीमा जुटेको सुन्दरपुर गाउँमा दुर्घटनाको खबर फैलिएसँगै उत्सवको वातावरण एकाएक शोकमा परिणत भएको छ। रोजगारीका सिलसिलामा काठमाडौँमा बस्दै आएका गाउँलेहरू परिवारसँग छठ मनाउन घर फर्किंदै गर्दा दुर्घटनामा परेपछि गाउँभरि रुवाबासी चलेको छ। मृतकका आफन्त, छरछिमेक र परिवारजन शोकमा डुबेका छन्।

स्थानीय नितेश कुमारका अनुसार दुर्घटनाको खबरपछि सुन्दरपुरको अवस्था अत्यन्तै पीडादायी बनेको छ। आफन्तहरू घरमा शव आउने प्रतीक्षामा छन्। कुनै आफन्त वा चिनजानको व्यक्ति घर पुग्दा पनि परिवारजनको चिच्याहटले गाउँ नै स्तब्ध हुने गरेको उहाँले बताउनुभयो।

दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात सुन्दरपुरकी निर्मला देवीको परिवारमा परेको छ। उहाँको परिवारका ६ जनाको यस दुर्घटनामा मृत्यु भएको छ। श्रीमान् राम सुनर रायको आठ वर्षअघि निधन भएपछि जेठा छोरा अवधेश यादवले काठमाडौँको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवारको पालनपोषण गर्दै आएका थिए।

छठ पर्व मनाउन अवधेशले बुधबार राति श्रीमती पुनम यादव, छोरीहरू १० वर्षीया अनु यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दीपिका यादव, छोरा कात्तिक यादव तथा भाइहरू २५ वर्षिइ विकेश यादव र १६ वर्षिय सुधेश यादवलाई गाडी चढाएर घर पठाएका थिए। आफू काठमाडौँमै बसेका कारण अवधेश भने सुरक्षित छन्। तर, उनले घर पठाएका आफन्तमध्ये १६ महिने छोरा कात्तिक मात्र जीवित छन्। उनी पनि घाइते अवस्थामा छन्।

अवधेशकी श्रीमती पुनम आठ महिनाकी गर्भवती थिइन्। उनका भाइ विकेश इन्जिनियरिङ अध्ययन पूरा गरेर घर फर्किंदै थिए। परिवारसँग छठ मनाउने र आमासँग खुसी साट्ने उनीहरूको सपना दुर्घटनाले चकनाचुर बनाएको छ। एउटै परिवारका सदस्य गुमाउँदा निर्मला देवीको घर अहिले शोकमा डुबेको छ।

त्यस्तै, सुन्दरपुरका निरशु यादवले छोरा ४० वर्षीय राकेश राय र १४ वर्षीय नाति रोहन राय गुमाउनुभएको छ। घरअगाडि बसेर उहाँ अहिले छोरा र नातिको शव आउने प्रतीक्षामा हुनुहुन्छ। परिवारका महिलाहरू विक्षिप्त अवस्थामा छन्। राकेशकी श्रीमती छठ मनाउन दुई नातिनी र एक नातिलाई लिएर दुई दिनअघि नै गाउँ आइसकेकाले उनीहरू भने सुरक्षित रहेका छन्।

यसै दुर्घटनामा निरशु रायका भाइ चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध रायको समेत मृत्यु भएको छ।

सुन्दरपुरकै निरस रायको परिवारमा पनि अर्को ठूलो विपत्ति परेको छ। उहाँका दुई छोरा एउटै गाडीमा घर फर्किंदै थिए। तीमध्ये २५ वर्षीय रामदुलार रायको दुर्घटनामा मृत्यु भएको छ भने ३० वर्षीय देवेन्द्र राय घाइते भएका छन्।

आँखाभरि आँसु पार्दै निरस रायले केही वर्षअघि जेठा छोरा रोजगारीका लागि भारतको मुम्बईमा रहँदा निधन भएको पीडा सुनाउनुभयो। अहिले फेरि काठमाडौँबाट घर फर्किंदै गर्दा अर्को छोरा गुमाउनुपरेको उहाँको भनाइ छ। जीवित रहेका छोरा पनि घाइते भएकाले उपचारमा सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ।

त्यस्तै, सुन्दरपुरका अमिरी रायका २ वर्षीय छोरा राम प्रवेश यादवको पनि दुर्घटनामा मृत्यु भएको छ। प्रमोद यादवका छोरा २६ वर्षिय गुड्डु यादव र बुहारी २४ वर्षकी गायत्री देवीले समेत ज्यान गुमाएका छन्। उनीहरूका पाँच वर्षीय छोरा सक्षम यादव र तीन वर्षीय छोरा सुजन यादव दुर्घटनामा घाइते भएका छन्। कलिला उमेरमै दुवै बालबालिकाले अभिभावक गुमाउनुपरेको छ।

दुर्घटनामा गाडीका चालक कविलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर मण्डलको पनि मृत्यु भएको छ। त्यस्तै, सुन्दरपुरका बासदेव रायका ३३ वर्षीय छोरा मुकेश यादव घाइते भएका छन्।

रोजगारीका लागि काठमाडौँमा बसेर परिवारको भविष्य निर्माणमा जुटेका सुन्दरपुरवासी छठ पर्वमा घर फर्किंदै गर्दा भएको यो दुर्घटनाले गाउँका धेरै परिवारको खुसी खोसेको छ। कतै आमाले सन्तान गुमाएकी छन्, कतै बालबालिकाले अभिभावक गुमाएका छन्।

छठको प्रसाद, पूजाको तयारी र पारिवारिक भेटघाटको प्रतीक्षामा रहेको सुन्दरपुर अहिले आफ्ना प्रियजनको अन्तिम बिदाइको तयारीमा छ। पर्वको उमंग छाउने बेला गाउँभरि शोक र पीडाको सन्नाटा फैलिएको छ।