विराटनगर– कोशी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। योसँगै संघ र सबै प्रदेशका सरकारबाट एमाले बाहिरिएको छ।
शुक्रबार प्रदेशसभामा भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आवश्यक मत जुटाउन नसकेपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा बनेको सरकार ढलेको हो।
कार्कीलाई एमाले र राप्रपाले समर्थन गरे पनि विश्वासको मतका लागि आवश्यक ४७ मत पुर्याउन सकेनन्। विश्वासको मतको प्रस्तावका पक्षमा भएको मतदानमा कार्की सरकारको पक्षमा ४६ मत र विपक्षमा ४३ मत परेको सभामुख बाबुराम गौतमले घोषणा गरे। ९३ जना सांसद भएको प्रदेश सभामा भएको मतदानमा ८९ जना सांसद सहभागी थिए।
मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्। त्यसपछि नेपाली कांग्रेस र माओवादीसहितको नयाँ सरकार गठन गर्ने तयारी गरिएको छ।
यसअघि संघ र सातै प्रदेशका सरकारमा रहेको एमाले अब सबैतिरका सरकारबाट बाहिरिएको छ।


