काठमाडौं– गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ। गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुलाई सम्मानस्वरुप आज पुजिने गरेको हो।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्ती अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमा मनाउने गरिन्छ। आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा छ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्छन्। आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाइने गरेको छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।
वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराण रचना गरेका थिए। पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए।


