झापा- बैंक तथा वित्तीय संस्थाभन्दा व्यक्तिलाई विश्वास गरेपछि कसरी ठगीमा परिन्छ भन्ने दृष्टान्त झापाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा बनेको छ। व्यक्तिलाई अतिविश्वास गर्दा स्थानीय १५० भन्दा बढी सर्वसाधारण अहिले बिचल्लीमा परेका छन्।
घरआँगनमै बैंक तथा वित्तीय संस्थाका शाखा नपुगेको कारणले उनीहरू व्यक्तिलाई विश्वास गर्न बाध्य भएका होइनन्, बरु बढी ब्याज आम्दानी हुने लोभमा पर्दा जीवनभरको बचतको सावाब्याज जोखिममा परेको हो। गौरादह-१ मा सुन चाँदी व्यवसायी गर्दै आएका सोमराज विश्वकर्माले विभिन्न समयमा विभिन्न व्यक्तिसँग लिएको १० करोडभन्दा बढी रकम तिर्न नसक्ने भन्दै फरार भएपछि गौरादह र कमलका स्थानीय समस्यमा परेका हुन्।
हाल फरार रहेका विश्वकर्मा विगत लामो समयदेखि गौरादह डिपु बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए। उनी यस क्षेत्रको सबैभन्दा ‘अब्बल’ व्यवसायीसमेत मानिन्थे। सुन धितोमा राखेर तुरुन्तै ऋण दिन सक्ने र महँगो ब्याजदरमा पैसा लिएर ब्याज दिन सक्ने पहिचान पनि बनाएका विश्वकर्माले केही समय राम्रै कारोबार गरेका थिए। यसले उनलाई ऋण लिनेदिने दायर विस्तार गरेको थियो। पैसा हुने/नहुनेसँग उनी चिरपरिचित थिए। गौरादह क्षेत्रबाट विदेश गएकाहरू कमाएको श्रीसम्पत्ति ब्याजमा लिइदिने उनी उपयुक्त विकल्प थिए। परिवारभित्रै पनि श्रीमान/श्रीमती आपसमा छलफल नगरी उनलाई पैसा सापटी दिन्थे।
बैंक तथा वित्तीय संस्थाबाट कम ब्याजदरमा कर्जा लिएर २४ प्रतिशतदेखि ३६ प्रतिशत ब्याज दिने भनेर विश्वकर्माले ऋण लिने गरेको खुलेको छ। गौरादहका एक स्थानीयले त ३० लाखमा आफ्नो घर बिक्री गरेर विश्वकर्मालाई रकम बुझाएको गुनासो गरेका छन्। नाम नखुलाउने सर्तमा उनले भने, ‘बढी ब्याज पाउने आशमा घर बिक्री गरेर राखेको ३० लाख रुपैयाँ सोमजीलाई दिएको थिएँ। उनले राम्रो ब्याजदर दिने आवश्वासन दिएपछि उनैलाई सापटी दिएको थिएँ। घर बेचेको पैसाले घर नै बनाउने सोच थियो। घर पछि बनाउने सोच राखियो। उनी फरार भएको खबरले घर न घाटको बनायो।’
त्यस्तै गुनासो अर्का एक पेन्सन होल्डर वृद्ध व्यक्तिले पनि गरे। उनले पेन्सन बापत पाएको १८ लाख रुपैयाँ सोमराजलाई ३६ प्रतिशत ब्याजदर दिने सर्तमा बुझाएका थिए। त्यसबापत मासिक रुपमा प्राप्त हुने ब्याजमा रकम थपेर साँवामा थप्ने गरेका थिए। मानौं कुनै महिना ब्याज बापत ३६ हजार प्राप्त भयो भने थप १४ हजार आफ्नो खल्तीबाट हालेर ५० हजार पुर्याएर साँवामा थप्ने गरेको उनी बताउँछन्।
‘अवकाशमा जाँदा पाएको १८ लाख रुपैयाँ ३६ प्रतिशत ब्याजदरमा उनलाई दिएको थिएँ। उनले दिने मासिक ब्याज ५० पुर्याउन अपुग हुने रकम समेत थप्दै साँवामा जोड्न आग्रह गरेपछि मैले अपुग रकम पनि दिँदै गएँ। त्यसरी थप्दै जाँदा उनले मसँग ४१ लाख रुपैयाँ लिनुपर्ने छ,’ उनले भने, ‘फरार भएकाले मेरो जिन्दगीको बचत सबै जोखिममा छ। मान्छे कहिले फर्कने टुंगो छैन। सबैले सम्पर्क भएको छैन मात्र भन्ने गरेका छन्। बुढेसकालका लागि साँचेको धन खोलैखोला भयो।’
वडाध्यक्षका अनुसार निवेदन थपिने क्रम जारी छ। १५० भन्दा बढी निवेदन आउन सक्ने उनको अनुमान छ। वडामा हालसम्म आएका निवेदनमा प्रतिनिवेदन ६० हजारदेखि ४० लाखसम्म रकम विश्वकर्मालाई बुझाएको दाबी गरिएको छ।
विश्वकर्मा आर्थिक रुपमा समस्यामा पर्दै गएको हल्ला केही समयअघि नै चलेको थियो। यसपछि ती वृद्धका एक जना आफन्तले ४१ लाख रुपैयाँ फिर्ता दिन विश्वकर्मालाई दबाब दिएका थिए। दबाब सहन नसकेपछि विश्वकर्माले २ लाख रुपैयाँ धुर पर्ने उनको नाम रहेको साढे १० धुर जग्गा पास गरिदिएको ती वृद्धाले बताए। अझै २० लाख रुपैयाँ नपाएको गुनासो उनको छ।
यस्तै अर्का एक व्यवसायीले आफूले कोभिड अगाडि नै विश्वकर्मालाई ३० लाख दिएपनि आजभोलि दिन्छु भन्दै फिर्ता नदिएको गुनासो गरे। ‘सोमजी खराब मान्छे जस्तो लागेको थिएन। उनले मसँग समय समयमा पैसा लिने र समयमा नै तिर्ने गरेका थिए,’ ती व्यवसायीले दुखेसो पोखे, ‘विश्वासकै आधारमा पछिल्लो पटक ३० लाख रुपैयाँ सापटी मागेर लगे। त्यसपछि उनी आर्थिक रुपमा समस्यामा परेको थाहा भएको थिएँ। मैलै सापटी लगेको रकम फिर्ता माग्दा तपाईंको पैसा मेरो जयजेथा बिक्री गरेरै भएपनि दिन्छु भनेका थिए। विश्वास गर्नुको विकल्प थिएन। अहिले आएर डुबाए।’
सर्वसाधारणसँग मात्रै होइन, विश्वकर्माले स्थानीय नेता तथा व्यवसायीबीच पनि परिचित थिए। कोभिडअघि सम्म उनको व्यवसाय राम्रैसँग चलेको थियो। उनलाई नजिकबाट चिन्नेहरु चर्को ब्याजदरमा उधारो लिने र दिने धन्दाले उनलाई साथ दिएकै थियो। दैनिक ठूलो मात्रामा रकमको लेनदेन गर्थे।
रकम ठूलो मात्रामा लेनदेन गर्न थालेपछि उनले गौरादह बजारमा नै झन्डै करोड पर्ने घर किनेका थिए। करिब ४७ लाख पर्ने फोर्डको गाडी पनि थपेका थिए। स्थानीय एक व्यवसायीका अनुसार गौरादह नगरपालिकाभित्रै ५/७ ठाउँमा घडेरी खरिद गरेपछि उनीमाथि स्थानीयको भरोसा थप बढेको थियो।
कोभिड महामारी र आर्थिक मन्दीसँगै उनको व्यवसायले लय गुमाउँदै गयो। यसका साथै मदिरा, जुवातास र भड्किलो जीवनशैली पनि थपिएको थियो। यसले उनलाई झन् संकटतर्फ धकेल्यो। विस्तारै उनलाई ऋण दिनेभन्दा पनि ऋण फिर्ता माग्नेहरुको संख्या बढ्न थालेपछि उनले आर्थिक सन्तुलन गुमाउन थाले। आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा समस्या आएकोले आफ्नो सम्पत्ति बिक्री गरेर ऋण चुक्ता गर्ने आश्वासन दिनुपर्ने अवस्थामा पुगे सोम। पैसा खोज्न हिँडेको बाहना देखाउँदै उनी गौरादह छोडेर कहिले सुसराली त कहिले विराटनगरमा रहेको भन्दै ऋणीलाई थम्थुमाउँदै आएका थिए।
विश्वकर्माले गौरादहस्थित प्राइम बैंकको शाखाबाट १ करोड ५० लाख ऋण लिएका छन्। यस्तै सुन धितोमा राखेर करिब एक करोड र यस्तै स्थानीय सहकारीहरूबाट विना धितो २ लाखदेखि ५ लाखसम्म गरेर १ करोड ५० लाख ऋण लिएका छन्। यस्तै धितो राखेर ४ करोड ५० लाख ऋण लिएको प्रारम्भिक अनुमान गरिएको छ।
‘म भागेर कहाँ जान्छु र! तपाईको पैसा तिर्ने नै हो। मेरो सम्पत्ति बिक्री गरेर भएपनि ऋण तिर्छु। मेरो इज्जतको पनि सवाल छ’ भन्दै उनले ऋणीहरुलाई फकाउने गरेका थिए। तर, गत असार १५ गते आफू टाँट पल्टिएको र व्यवसाय संचालन गर्न नसक्ने अवस्थामा पुगेको भन्दै गौरादह वडा नम्बर १ का वडाअध्यक्ष नगेन्द्र भण्डारीलाई फेसबुक म्यासेन्जर मार्फत हस्तलिखित पत्र पठाए। कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको बन्दाबन्दी र त्यसपछि सुरु भएको आर्थिक मन्दीका कारण आफू व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको भन्दै विश्वकर्माले आफ्नो श्रीसम्पत्ति र परिवार छोडेर हिँडेको पत्रमा उल्लेख गरेका छन्। ‘लामो समय कोभिडको प्रभावले बढाएको बन्दाबन्दी र त्यसपछि देशमा आएको आर्थिक मन्दीले गर्दा म व्यवसाय गर्न नसक्ने अवस्थामा पुगे। मैले मेरो घरजग्गा, श्रीसम्पती र परिवार छोडेर हिडेको छु’, विश्वकर्माले पत्रमा लेखेका छन्।
आफूले लिएको कर्जाको सावाभन्दा बढी ब्याज भुक्तानी दिएको दावी विश्वकर्माको छ। उनले लिएको रकम, बैंकमा राखेको गरगहना र भुक्तानी दिएको रकम सहित सम्पुर्ण विवरण गौरादह उद्योग वाणिज्य संघलाई जानकारी गराइसकेको उनले पत्रमा उल्लेख गरेका छन्। यसैका आधारमा वडाध्यक्ष(भण्डारी)लाई आफ्नो सम्पूर्ण व्यवहार मिलाइदिन र आफूलाई खोजी नगर्न पत्रमा आग्रह गरिएको छ।
‘उद्योग वाणिज्य संघमा मैले दिएको हिसाबकिताब/लिएको हिसाबकिताब अनि बैंकमा राखेको गरगहना समेतको रेकर्ड छ। मैले व्यवसायमा आर्थिक लेनदेन गर्दा धेरैलाई सावाभन्दा ब्याज बढी दिएको छु,’ उनले वडाध्यक्षलाई पठाएको पत्रमा भनिएको छ, ‘त्यसैले व्यवहारको विषय परिस्थितिका कारण मैले घर परिवार छोडेर हिँडेको छु। मलाई नखोज्नु होला। तपाईं अध्यक्षज्युले व्यवहार मिलाइदिन हुन यसै पत्र मार्फत अनुरोध गर्दछु।’

सोमराजले वडाध्यक्षलाई लेखेको पत्र।
उनले पत्र मार्फत आफ्ना सम्पूर्ण ग्राहक वर्गमा पर्न गएको समस्याप्रति क्षमायचना समेत गरेका छन्। तर उनले क्षमा मागेको पत्र सार्वजनिक भएपछि आफ्नो जायजेथा बिक्री गरेर पैसा सापटीमा लगाउनेहरु यतिबेला वडा कार्यालय र प्रहरी कार्यालय धाउन थालेका छन्। सोम भागेको खबर सार्वजनिक भएपछि स्थानीयको निदहरण भएको छ।
वडाध्यक्ष भण्डारीले असार १५ गते दिनको २ बजेतिर आफूलाई सम्बोधन गरेर पठाएको पत्र पाएको बताए। भोलिपल्ट शनिबार भएकाले आइतबार उनको हस्तलिखित पत्र साथमा राखेर उनी फरार भएको व्यहोरासहितको पत्र गौरादह नगरापालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र वाणिज्य संघमा पठाएको बताए। ‘असार १५ गते दिनको २ बजेतिर आर्थिक मन्दीका कारण आफू व्यवहार मिलाउन नसक्ने अवस्थामा पुगेको, आफूसँग भएको जायजेथा छोडर गएको र उद्योग बाणिज्य संघको समन्वयमा आफ्नो व्यावहार मिलाइदिन आग्रह गर्दै मलाई सम्बोधन गरे हस्तलिखित पत्र पठाएका रहेछन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘भोलिपल्ट सार्वजनिक बिदा परेकाले आइतबार उनले पठाएको पत्रलाई साथमा राखेर सम्बन्धित निकायहरुलाई पत्र पठाइएको छ।’
विश्वकर्मा उक्त क्षेत्रको सबैभन्दा ठूलो सुन व्यवसायी थिए। बैंक तथा वित्तीय संस्थाभन्दा उनीको पसलमा मानिसहरुको बढी घुइँचो हुने गरेको भण्डारी बताउँछन्। एउटा सानो पकेट डायरी जस्तै पासबुक बनाएर उनले क्षमताभन्दा बढी रकम उठाउने गरेको देखिएको भण्डारी बताउँछन्।
‘उनी यस क्षेत्रको सबैभन्दा बढी कारोबार गर्ने सुन व्यवसायी थिए। उनले गर्ने कारोबार र मान्छेको भिडभाड हेर्दा त्यसो भन्न गाह्रो थिएन। ठुलो परिमाणमा पैसा जम्मा गरेका रहेछन्। निक्षेप लिनका लागि उनले डायरी जस्तो पासबुक बनाएर दिने गरेका रहेछन्,’ भण्डारीले भने।
उनी फरार भएको सूचना पाएपछि पिडितहरुलाई निवेदन दिनका लागि वडाध्यक्ष भण्डारीले आग्रह गरेका थिए। हालसम्म ७४ जनाले निवेदन दिएका छन्। वडाध्यक्षका अनुसार निवेदन थपिने क्रम जारी छ। १५० भन्दा बढी निवेदन आउन सक्ने उनको अनुमान छ। वडामा हालसम्म आएका निवेदनमा प्रतिनिवेदन ६० हजारदेखि ४० लाखसम्म रकम विश्वकर्मालाई बुझाएको दाबी गरिएको छ। विश्वकर्माले सर्वसाधारणसँग मात्रै करिब १० करोड उठाएको प्रारम्भिक अनुमान वडाध्यक्षको छ।
उनले वित्तीय संस्थाबाट पनि ठूलो मात्रामा कर्जा लिएको देखिएको वडाध्यक्ष भण्डारी बताउँछन्। विश्वकर्माले गौरादहस्थित प्राइम बैंकको शाखाबाट १ करोड ५० लाख ऋण लिएका छन्। यस्तै सुन धितोमा राखेर करिब एक करोड र यस्तै स्थानीय सहकारीहरूबाट विना धितो २ लाखदेखि ५ लाखसम्म गरेर १ करोड ५० लाख ऋण लिएका छन्। यस्तै धितो राखेर ४ करोड ५० लाख ऋण लिएको प्रारम्भिक अनुमान गरिएको छ।
गौरादह उद्योग वाणिज्य संघका सदस्य ई. भानु आचार्य संस्थालाई भन्दा व्यक्तिलाई बढी विश्वास गर्दा मानिसहरू ठगिन पुगेको बताउँछन्। ‘बढी आम्दानी गर्ने लोभका कारण संस्थालाई भन्दा व्यक्तिलाई विश्वास गर्दा अहिले यस क्षेत्रका मानिस पीडित बनेका छन्। कतिपयको घरव्यवहार लथालिङ्ग भएको छ। पीडितहरुले गुनासो गर्ने ठाउँ छैन। यो क्षेत्रमा वित्तीय साक्षरता अभाव देखियो,’ उनले भने।



