काठमाडौँ- सहसचिव घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। वरिष्ठता तथा कार्यक्षमताका आधारमा उनलाई बढुवा गरिएको मन्त्री शर्माको भनाइ छ।
२०५४ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका उपाध्याय शाखा अधिकृत, उपसचिव हुँदै सहसचिव भएका थिए। हाल उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारी छन्।
उपाध्यायसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लक्ष्मी बस्नेत र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेश घिमिरे बढुवाका प्रत्याशी थिए।
लोकसेवा आयोगको बढुवा सिफारिस समितिले तीन जनाको नाम पठाएकोमा मन्त्रिपरिषद्ले उपाध्यायलाई सचिव नियुक्ति गरेको हो।
बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि एक सचिव पद रिक्त रहेको थियो।


