काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक सङ्गठनअन्तर्गत काठमाडौँ महानगर समितिद्वारा प्रकाशित ‘काठमाडौं शिक्षक साैगात २०८०’काे विमाेचन गरिएको छ। सांसद याेगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा नन्दी मावि नक्सालमा भएको कार्यक्रममा सौगातको सार्वजनिक भएको हो।
एमाले सचिवसमेत रहेका सांसद भट्टराईले शिक्षक समाजकाे पथप्रदर्शक भएकाले सम्मानित व्यवहार हुनुपर्ने बताए। संङ्घीय शिक्षा ऐन जारी नहुँदा शिक्षकका हकहित सुनिश्चित गर्न नसकिएको उनको भनाइ थियो।
कार्यक्रममा बाेल्दै शिक्षक संगठनका केन्द्रीय महासचिव हंसबहादुर शाहीले स्थानीय तहले शिक्षकहरुलाई भकुण्डो खेलाएजसरी खेलाउने प्रवृत्ति नराेकिए संगठन कडा आन्दाेलनमा उत्रने बताए।
शिक्षक सङ्गठनका आफ्ना सङ्गठनात्मक गतिविधि तथा काठमाडौँ महानगरभित्र कार्यरत सबै शिक्षक कर्मचारीकाे विवरण समावेश गरेर प्रकाशित यस प्रकाशन शिक्षक, विद्यार्थी, अभिभावकलगायत शिक्षा क्षेत्रसँग सराेकार राख्ने सबैलाई बहुउपयाेगी हुने सङ्गठनका सचिव गणेश गुरागाईले बताए।
सम्पन्न विमाेचन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्वकेन्द्रीय अध्यक्षहरु बाबुराम थापा, बाबुराम अधिकारी, लक्ष्मण शर्मा, वर्तमान महासचिव हंस शाहि, पुर्व उपाध्यक्ष विष्णु पाेखरेल, वागमति प्रदेश अध्यक्ष नीर बहादुर कार्की, केन्द्रीय सदस्य केशव भट्टराई, केन्द्रीय पार्षद तुलाराम ढकाल, जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मा, काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायत महानगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे।


