विराटनगर- कोशी प्रदेशमा धमाधम मन्त्री छान्ने काम भइरहेको छ। एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वको सरकारले विश्वासको मत जुटाउन नसकेर ढलेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा बनेको सरकारले मन्त्रीमा नियुक्त गर्दै शपथ दिलाउँदै आइरहेको छ।
प्रदेश सभा सदस्यमा उदयपुरबाट निर्वाचित कोशीका प्रदेशसभा सदस्य नारायण बुर्जामगरले भने सरकार गठनमा आफ्नो दल माओवादी केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै सांसदबाट नै राजीनामा दिने मनाशय बनाएको बताएका छन्।
उदयपुर २(१) बाट दुईपटक प्रदेशसभा सदस्यमा निर्वाचित उनले आफू र आफ्नो क्षेत्रका मतदाताप्रति अन्याय भएको उनको दाबी छ। आफू मन्त्री बन्ने छाँट नदेखेपछि उनले राजीनामा दिने सोच बनाएको बताइएको छ।
‘म र मेरो मतदातामाथि बारम्बार अन्याय भयो। दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मूल्याङ्कन गर्न सकेन, कोशी प्रदेश सरकार गठनप्रति मेरो विमति छ,’ आइतबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘यसै कुरालाई मध्यनजर गर्दै आवश्यक परे मलाई मतदान गर्ने सार्वभौम जनतासँग परामर्श गरेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने मनाशय बनाइसकेको छु।’
उद्धव थापा नेतृत्वको सरकारमा उनी मन्त्री बन्ने लगभग पक्का थियो। तर अन्तिम समयमा नाम काटिएको थियो। कोशीमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन्।


