पोखरा- पोखराको सभागृह चोकदेखि बीपी चोकसम्म निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्न थालिएको छ। सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त बिरुवा रोप्न थालेका हुन्।
स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताए। डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइने छ।
बिरुवाहरूको संरक्षण स्थानीयसमेतको सहयोगमा गरिने र त्यसमा महानगरपालिकाले विशेष निगरानी गर्ने उनको भनाइ छ।
‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन,’ प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ, अब कसैलाई छुट दिइने छैन।’
पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा भने पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने उनको भनाइ छ। पोखरालाई फुलैफुलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धनसहित पुष्परोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन छ।
उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाले यो महिनाभित्र सञ्चालनमा ल्याउने तयारी छ। अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ।
घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्पविज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए। उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्छ। यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा हो। यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु उपयुक्त हुने उनको भनाइ छ।


