काठमाडौं – ए डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब एसोसियसन समिति गठन गरिएको छ। काठमाडौंमा सोमबार भएको विभिन्न डिभिजन क्लबहरुको भेलाले शेर्पाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।
पछिल्लो समय नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको पूर्व अध्यक्ष रहेको शेर्पाको अध्यक्षतामा समिति गठन गरिएको हो। उनी पछिल्लो चुनावमा पंकज नेम्वाङसँग पराजित भएका थिए।
पछिल्लो समय एन्फा र विभिन्न क्लबहरुको दुरी बढ्दै गएको अवस्थामा क्लब मिलेर समिति बनाउनुलाई महत्वका साथ हेरिएको छ। ए डिभिजनका क्लबहरुले त पछिल्लो सहिद स्मारक ए डिभिजन लिगमा एन्फाविरुद्ध विभिन्न बुँदाहरुमा विरोधका कार्यक्रम गरेका थिए।
हिजो सोमबार गठित समितिको उपाध्यक्षमा मनाङ क्लबका अध्यक्ष विजय घले र आरसीटीका कुमार राज भण्डारी छन्।
यस्तै महासचिवमा उपेन्द्रमान सिंह, सचिवमा ध्रुव बिक्रम पाण्डे र कोषाध्यक्षमा मनोरथ आचार्य छन्।
सदस्यमा इन्द्रमान तुलाधर, विश्वास बिक्रम शाह, कपिला राना, डिकेन सुवाल, रामकुमार तामाङ, शिक्षित पराजुली र दिपक ज्ञवाली छन्।
डिभिजन क्लबहरुको हक, हित र अधिकारका लागि संगठित रुपमा अघि बढ्ने उद्धेश्य सहित क्लब एसोसियसन गठन गरिएको मनाङ क्लबका अध्यक्ष विजय घलेले बताए।
एन्फाको पछिल्लो कार्यशैलीप्रति डिभिजन क्लबहरु असन्तुष्ट रहदै निरन्तर भेला गर्दै आएका थिए। आफ्ना माग सुनुवाई नभएपछि क्लबहरु संगठित भएर अघि बढ्ने निर्णय गरेका छन्। समितिमा ए, बी र सी डिभिजनका अधिकांश क्लबहरुको सहभागीता र एक्यबद्धता देखिएको छ।


