काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्।
सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बङ्गलादेशले भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो। फाइनल खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ।
मङ्गलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफूहरू तयार भएको बताए।
नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए।
बङ्गलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरे पनि फाइनलका लागि तयार रहेको बताए।
बंगलादेश भने तेस्रो पटक फाइनल खेल्दैछ । यसअघि सन् २०१९ र २०२२ मा बंगलादेश फाइनल पुगेको थियो। तर दुवै पटक भारतसँग फाइनलम पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
सन् २०१७ मा नेपाल च्याम्पियन बन्दा पनि बंगलादेश उपविजेता बनेको थियो।
