काठमाडौँ- खेल पत्रकार नवीन अर्यालको नेपाली खेलकुदको वृत्तान्त नामक पुस्तक सार्वजनिक भएको छ। नेपाली खेलकुदको एउटा कालखण्डको इतिहास लेखिएको पुस्तक शरच्चन्द्र शाह मेमोरियल फाउन्डेसनको सहयोगमा मंगलबार पुस्तक सार्वजनिक भएको हो।
पुस्तकमा राणकालदेखि पञ्चायतको अन्त्यसम्म अर्थात् खेलकुदको क्षेत्रमा भन्दा रंगशालामा आँधिबेहेरी आएर धेरै मानिसको मृत्युसम्मको इतिहास छापिएको लेखक नवीनले बताएका छन्।
नवीनले नेपालमा खेलकुदको इतिहास नभेटिने भएकाले भारतको दिल्लीस्थित नेहहरु लाइब्रेरीमा पढेर, टाइम्स अफ इन्डियाका अर्काइभहरुबाट डाटा संकलन गरेको पनि बताएका छन्। उनले नेपाली खेलकुदको इतिहासमा सबैभन्दा गौरव मानिएको सरदचन्द्र शाहलगायतका व्यक्तिसँग कुरा गरेका थिए।
‘यो किताब निस्कनका लागि धेरै समय नै लाग्यो। मैले दुई वर्षअघि नै निकाल्ने सोचे पनि कोभिडको कारण त्यो सम्भव भएन। ‘रिसर्चको दौरानमा कुराकानी गरेका केही व्यक्तित्व कोभिडको कारणले बित्नुभयो। कति कुरा त्यसै हराए। मैले सूचनाका स्रोत मानेका मानिस कोभिडकै कारण बितेपछि केही समस्या भयो,’ पुस्तक विमोचन समारोहमा नवीनले भने, ‘कमल थापा निकै व्यस्त भएको कारण गफगाफमा केही गाह्रो पनि भयो। त्यसका लागि मैले अन्य साथीहरुको सहयोग लिनुपर्यो।’
नवीनले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्ने जितबहादुर कार्कीबाट पुस्तक विमोचन गराएका छन्। जीतबहादुरले मनिलामा भएको अन्तर्राष्ट्रिय म्याराथन दौड (सन् १९७३) प्रतियोगितामा मेडलसमेत जितेका थिए। त्यो नै नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय मेडल थियो।
पुस्तकमा नेपालले पहिलो पटक पदक जित्दाको समयदेखिको कुरा समेटिएको छ। त्यस्तै, राणा कालदेखि सुरु भएको उनको लेखन दशरथ रंगशालामा भएको एसियाकै छैटौं ठूलो दुर्घटनासम्म पुगेको छ। त्यही समयमा पर्छ स्वर्गीय शरदचन्द्र शाहको कार्यकाल। राखेपमा शाह हुँदा उनको कार्यकाल नेपाली खेलकुदमा स्वर्णकाल मानिएको छ। उनले पनि आफ्नो पुस्तकका उनको कार्यकालबारे उल्लेख गरेका छन्।
‘नेपाल र जापानको सम्बन्धमा खेलकदको कति महत्त्व रहेको छ भन्ने कुरा मैले पुस्तकमा लेखेको छु। नेपालमा इतिहास लेख्ने परम्परा विशेष खालको छ। बावुवाजे, छ सात पुस्तादेखि हुँदै आएको कुरा, गर्दै आएको कामलाई लिपिबद्ध गर्ने परम्परा छ, पुष्टि विना सुनेकै भरमा लेख्ने प्रचलन रहेको छ। तर मैले धेरै तथ्यहरु भर्ने प्रयास गरेको छु,’ उनले आफ्नो पुस्तक किन फरक छ भन्ने बुझाउँदै भने, ‘इतिहास पनि यसरी लेख्न सकिन्छ भन्ने थाहा पाएर मैले लेखेको हो।’
नागरिक पत्रिकामा नवीनले शाहको बारेमा तीन वटा स्टोरी लेखेका थिए। त्यसपछि शाहले उनलाई बोलाएका थिए। त्यसपछि नै शाहले उनलाई पुस्तक लेख्न सुझाव दिएका थिए। त्यसपछि नवीनले किताब लेख्ने सुरु चलेको बताएका छन्।
‘तर बीचमा उहाँ बित्नुभयो। संयोगवस् आज उहाँकै सम्झनामा खोलिएको फाउन्डेसनबाट पुस्तक विमोचन भइरहेको छ। यसका लागि धेरै धेरै धन्यवाद भन्न चहान्छु,’ नवीनले अन्तिममा भने।
उनको पुस्तकलाई प्रोफेसर पी खरेलले सम्पादन गरेका हुन्। ‘उहाँले नराख्नु भनेका कुरा मैले काटिदिएको छु। यो किताब कोभिडभन्दा अघि नै सक्छु भनेको थिएँ। किताब लेख्छु भनेर जागिर छोडेको थिएँ। तर भनेजस्तो सजिलो भएन। तर मैले तथ्यांकको जोहो चाहिँ कोभिडअघि नै गरिसकेको रहेँछु,’ उनले भने, ‘खेलकुद साहित्य यस्तो गाह्रो रहेछ कि मैले हात त हालिहालेँ तर फत्ते गर्न गाह्रो। खेलकुद साहित्य लेख्न सजिलो छैन।’
उनले पुस्तक लेख्दै गर्दा इतिहासका केही पात्रलाई हेर्ने आफ्नो शैली परिवर्तन भएको बताएका छन्। ‘मैले राजा त्रिभुवनले नेहहरुलाई १० हजार दिएको कुरा पनि भेट्टाएँ। यो नयाँ कुरा भयो। जतिबेला थाइल्यान्डको टिम १० बोरा चामल लिएर नेपाल आएको कुरा किताबमा समेटेको छु। त्यतिबेला राजा त्रिभुवनले १० हजार दिएका थिए,’ उनले भने।
किताबमा राणाकालको अन्त्यदेखि पञ्चायत कालको अन्त्यसम्मको कुरा छन्। पञ्चायतको फलपछिको कुराहरु भने म अर्को पुस्तकमा ल्याउने उनको वाचा छ। ‘नेपाली खेलकुलको विकास गर्न र ओलम्पिक कमिटीको काम बयान गर्न यो पुस्तक पढ्न सकिन्छ,’ पुस्तकबारे लेखक भन्छन्।
किताबलाई टाइमलाइनमा सेट गरेको बताएका छन्। पढ्न सजिलो होस् भन्नका लागि त्यसो गरेको उनले बताए। ‘त्यतिबेलादेखि जतिबेला पैसा थिएन र वीरगंजबाट हिँडेर काठमाडौं आउँदाको घटना यहाँ देखियो। इतिहास लेख्दा समय महत्वपूर्ण रहन्छ। राखेपको गठन २०१६ सालमा राखेपको गठन भयो उसले २०१५ सालमा स्थापना भएको बोर्ड राखेको छ त्यो किन हो ? यस्ता कुरा किताबमा समेटिएका छन्,’ उनले भने।
अहिलेको युवाहरुले धेरै भेट्रान खेलाडीलाई चिन्दैनन्। उनीहरुलाई पनि यो किताबले खेलकुदको इतिहाससँग कनेक्ट गर्न सक्ने उनको दाबी छ।
समालोचक पी खरेलले पनि पुस्तक राम्रो बनेको र यसमा आफूलाई पनि कमै थाहा भएको र थाहै नभएका कुरा समेटिएको बताएका छन्। ‘यो किताबलाई पीएचडी/थेसिसमा लैजाने हो भने ७५ प्रतिशत पूरा भएको छ,’ खरेलले भने।
नेपालमा खेलकुदको अवस्था अहिले जस्तो छ हिजो शाहले तयार गरेको फाउन्डेसनले नै भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन्। उनका अनुसार शाहले काम नगरको भए हाम्रो खेलकुद आजको अवस्थामा पनि हुने थिएन।
‘नवीनजीले यो पुस्तक प्रकाशन गर्नुभएको छ जसले खेलकुदको अनुसन्धानका लागि बलियो आधार बन्न सक्नेछ। मलाई लाग्छ नेपालका धेरै कुरा यो किताबले समेटेको छ,’ श्रेष्ठले भने।
पुस्तकको विमोचन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बू पनि उपस्थित थिए। ‘यो पुस्तक इतिहास हो यसलाई सबैले अध्ययन गरौँ। त्यसले नयाँ मार्गदर्शन दिन सक्नेछ। नाम नै यसको वृत्तान्त छ। केही छुटेको भए अर्को संस्करणमा आउने छ। तर खेलमा लाग्ने सबैका लागि यो मार्गदर्शन बनन सकोस्,’ मन्त्री लिम्बूले भने।


