काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको हो।
‘मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ। गत बिहीबार कोशीका सभामुखसमेतलाई जोडेर बहुमत पुर्याएर कोशीमा कांग्रेसका उद्धव थापाको नेतृत्वमा सरकार गठन भएको थियो।
उक्त प्रक्रिया अवैधानिक भएको भन्दै एमालेका तर्फबाट रिट दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थापा सरकारलाई काम गर्न रोक लगाएको हो।
सर्वोच्चले थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुको कारणबारे लिखित जवाफ पेस गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसहितका विपक्षीलाई समेत आदेश गरेको छ।
सर्वोच्चले यो मुद्दामा साउन ७ गतेका लागि अर्को पेसी तोकेको छ।


