काठमाडौँ- रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा रुसी दूतावासअघि प्रदर्शन भएको छ। रुसले गरेको आक्रमणको ५०५औँ दिन पूरा भएको तर युद्ध नरोकिएको भन्दै त्यसको विरोधमा मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा प्रदर्शन भएको हो।
समाजको केन्द्रीय सभापति रामकृष्ण बरालको नेतृत्वमा भएको प्रदर्शनमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्वसभापति उत्तर पुडासैनीलगायतको उपस्थिति थियो।
समाजले युद्ध रोक्नका लागि आग्रह गर्दै आजै रुसि दूतावासमार्फत त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्बोधन गर्दै पत्रसमेत पठाएको छ।
सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग सम्बन्ध नजिक बनाएको आरोपमा रुसले युक्रेन सैनिक हमला सुरु गरेको थियो।
युक्रेन-रुस युद्धमा सयौँको मृत्यु भएको छ भने हजारौँ घाइते छन्। यस्तै लाखौँले घरबार छोडेर पलायन भएका छन्। तैपनि युद्ध रोक्नका लागि पहल सुरु भएको छैन।










