दमौली–
मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति। -भानुभक्त आचार्य
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ। घरभित्रै ठूला–ठूला काँडासहितका बिरुवा हुर्केका छन्। भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यही वर्ष घर पुनःनिर्माणको काम सुरु गर्ने तयारी गरिएको छ। भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनःनिर्माणको तयारी गरिएको हो।
भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०/८१ भित्रै घर पुनःनिर्माणको काम सुरु हुने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए।
घर पुनःनिर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभए पनि समितिकै आन्तरिक कोषबाट भए पनि काम सुरु गरिने रानाभाटको भनाइ छ। उनले भने, ‘कङ्क्रिटको घर बनाउन नसकिए पनि ढुङ्गा माटोको भए पनि घर निर्माणका लागि काम सुरु हुन्छ, नगरपालिका, प्रदेश र सङ्घ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम सुरु हुनसकेको छैन। अब समिति भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ। उनले भने, ‘विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम सुरु गर्छौँ।’
भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। रानाभाटले भने, ‘आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृहजिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ। घर पुनःनिर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ।’
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि स्वामित्व ग्रहण र पूर्वाधार अभावको मुख्य समस्या देखिएपछि काम सुरु गर्न नसकिएको जनाएको छ। भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ। विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए। जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी हुँदा रु एक लाख २७ हजारको क्षति भएको थियो।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनःनिर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए। भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ।
भानुभक्त जन्मस्थल विकास समितिले गत वर्ष शिखर कटेरीमा पानी र बत्तीको व्यवस्था गरेको छ। शिखर कटेरीमा नै रामायण भवन निर्माण सम्पन्न भइसकेको छ। पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो। रामायण भवनलाई आकर्षकरूपमा बनाइएको छ। भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा सरोकारवालाको गुनासो छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चमा आबद्ध रोमाकान्त पोख्रेलले नेपाली भाषाको एकीकरण गर्ने भानुभक्तको सम्मान हुन नसक्नु दुःखद् भएको बताए।
भानु जन्मस्थललाई सप्तधाममा विकास गरिने
भानुभक्त जन्म्स्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचार–प्रसार गरी साहित्यिक पर्यटनका रूपमा देश–विदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ। तर पर्याप्त बजेट नहुँदा त्यसले मूर्तरुप पाउन सकिरहेको छैन।
आन्तरिक तथा बाह्य पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक रानाभाटको भनाइ छ। चुँदीरम्घालाई सप्तधामका रूपमा विकसित गर्नका लागि गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउँछन्। ‘पर्यटकलाई आकर्षित गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन’, रानाभाटले भने, ‘चुँदीरम्घाको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ।’
भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापीठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउँछन्।
दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ। समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको उपस्थिति रहने आयोजकले जनाएको छ।
भानुभक्तका पनाति भन्छन्- चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ। पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक सङ्ग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ। भानुसँग जोडिएको घाँसीकुवा पृथ्वीराजमार्गमा बनाइएको छ। चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन्।
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्मजयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ। यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन्। सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी कार्यक्रममा सहभागी हुन्छन्। त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ।
भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ।
आचार्य आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर दङ्ग परे। भानुभक्तका छोरा रामनाथ हुन्। उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउँछन्। रामनाथका दुई श्रीमतीमध्ये अर्की श्रीमतीपट्टिका एक नाति हरिनाथभन्दा जेठा पनि जीवितै छन्।
भानुभक्तको २१०औँ जन्मजयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए। पनाति आचार्यले भने, ‘देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख व्यक्त गर्दछौँ।’

भानुभक्तका पनाती
उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउन पहल भने नभएका होइनन्। डा जयराज आचार्यको अध्यक्षतामा गठित भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको चार सय रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य सुरु भएको जानकारी दिए। यसका लागि सरकारबाट रु एक करोड निकासा भएको थियो। उद्यानले व्यक्तिगतस्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ। महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको एक सय आठ फिटको विशाल मूर्ति बनाउने लक्ष्य रहेको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायाण र अन्य लोकपिय रचना गरेका कारण उनको कीर्ति नेपाल बाहिर नेपाली पुगेका सबै स्थानमा भएको बताए। उनले प्रतिभा अब्बल भएमा कुनै सञ्चारमाध्यम वा विमोचनजस्ता कार्यक्रमबाट प्रचार नभए पनि मानिसले कृति आफैँ बोकेर देशाटन गर्ने उदाहरण रामायणलाई लिन सकिने बताए।
सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।
यसैबीच भानुजयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्यसाँझ मनाएका छन्। कार्यक्रममा डा घिमिरे, तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, डा हिरण्यलाल ज्ञवाली, ज्योति जङ्गल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमीलगायतले रचना वाचन गरेका थियो।
भानु जयन्तीका अवसरमा आज विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी सुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदैछ। दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ।


