भारतीय अन्तरिक्ष अनुसन्धान परिषद (इसरो)ले शुक्रबार दिउँसो २:३५ बजे चन्द्रयान-३ लाई चन्द्रमामा पठाएको छ।
इसरोको यसअघिका दुई मिसनपछि चन्द्रमामा यान पठाउने भारतको यो तेस्रो प्रयास हो, जसलाई चन्द्रयान-२ कै फलोअप मिसनको रूपमा हेरिएको छ।
यस मिसनमा चन्द्रयानलाई पृथ्वीको एक मात्र प्राकृतिक भूउपग्रह चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास गरिने छ। यसअघि केवल तीन देश रुस, अमेरिका र चीनले मात्र यो सफलता हासिल गरेका छन्। त्यसैले भारत अब त्यसरी ल्यान्ड गराएर चौथो मुलुक बन्न चाहन्छ।
यससँगै इसरोले आफ्नो पहिलो सौर्य अभियान आदित्य–एल १ पनि घोषणा गरेको छ, जुन यस वर्षको अगस्ट महिनामा सुरु हुनेछ। तर अहिले सबैभन्दा बढी चर्चामा रहेको चन्द्रयान–३ हो। जसको आजै मात्र सफल प्रक्षेपण भइसकेको छ।
बीबीसी हिन्दीका लागि जाह्नवी मूलेले तयार पारेको यो लेखमा इसरोको चन्द्रयान–३ मिसनको बारेमा र यसले देशको लागि के अर्थ राख्छ भन्ने कुरा बयान गरिएको छ।
चन्द्रयान–३ को प्रक्षेपण हुन्छ?
इसरो प्रमुख एस सोमनाथले दुई हप्ता अघिको बुधबार (जुन २८, २०२३) चन्द्रयान–३ प्रक्षेपणका लागि तयार भएको बताए थिए। एस सोमनाथले भनेका थिए, ‘चन्द्रयान–३ अन्तरिक्ष यान पूर्ण रूपमा जोडिइसकेको छ र हामीले यसको परीक्षण पनि पूरा गरिसकेका छौं।’
चन्द्रयान–३ अन्तरिक्ष यान आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको छ। यो एलएमभी ३ रकेट द्वारा प्रक्षेपण हुनेछ, जुन पहिले जीएसएलभी मार्क ३ को रूपमा चिनिन्थ्यो।
चन्द्रयान–३ को उद्देश्य के हो ?
चन्द्रयान–३ को कुल बजेट करिब ६१५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। इसरोले यस मिसनका तीन महत्त्वपूर्ण लक्ष्यहरू पनि बताएको छ। त्यसमा पहिलो हो चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहमा सुरक्षित र सफ्ट ल्यान्ड गर्ने। उसले निर्धारण गरेका बाँकी लक्ष्यहरूमा चन्द्रमाको सतहमा आफ्नो रोभर चलाएर देखाउने र त्यहाँ वैज्ञानिक परीक्षण गर्ने रहेको छ।
चन्द्रयान–२ जस्तै, चन्द्रयान–३ मा पनि एउटा ल्यान्डर (चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने अर्को सानो अन्तरिक्षयान) र रोभर (चन्द्रमाको सतहमा घुम्ने अन्तरिक्षयान) हुनेछ।
यान चन्द्रमाको सतहमा पुग्ने बित्तिकै, ल्यान्डर र रोभर अर्को एक चन्द्र दिन अर्थात् १४ पृथ्वी दिनका लागि सक्रिय हुनेछन्। इसरोको चन्द्र मिसनको लक्ष्य चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्याण्डिङ गर्नु हो।
इसरोले सेप्टेम्बर २०१९ मा चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने प्रयास गर्यो तर त्यसपछि यसको विक्रम ल्यान्डर क्षतिग्रस्त भयो।
त्यसपछि इसरो प्रमुखले समाचार एजेन्सी पीटीआईलाई भनेका थिए, ‘अर्बिटरको तस्विरले विक्रम ल्यान्डरले चन्द्रमामा हार्ड ल्यान्डिङ गरेको देखाउँछ। चन्द्रमाको परिक्रमा गरिरहेको अर्बिटरले विक्रम ल्यान्डरको थर्मल तस्विर लिएको छ।’
चन्द्रमामा अन्तरिक्ष यान अवतरण दुई तरिकाले गर्न सकिन्छ।
एउटा सफ्ट ल्यान्डिङ हो जसमा अन्तरिक्षयानको गति घट्छ र यो बिस्तारै सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण हुन्छ। अर्कोतर्फ, दोस्रो अवतरण भनेको कडा अवतरण(हार्ड ल्यान्डिङ) हो, जसमा अन्तरिक्ष यान चन्द्रमाको सतहसँग ठोक्किन्छ र दुर्घटनाग्रस्त हुन्छ।
चन्द्रयान–२ बाट सिकेका पाठहरूको आधारमा, इसरोले आफ्नो यो मिसनको डिजाइन र बनावटमा परिवर्तन गरेको थियो।
समाचार एजेन्सी आईएएनएसले इसरोले फेरि एक पटक आफ्नो ल्यान्डरको नाम विक्रम र रोभरको नाम प्रज्ञान राख्ने बताएको थियो।
यी मेसनहरूले चन्द्रमाको सतहमा रहेको माटो, पानीका कणजस्ता रासायनिक तत्व र प्राकृतिक स्रोतहरू हेर्ने र सूचना पठाउने छ। यो अभियानले चन्द्रमाको बनावटको बारेमा हाम्रो ज्ञानमा उल्लेखनीय वृद्धि गर्ने इसरोको दाबी छ।
वैज्ञानिकका अनुसार यो यानमा धेरै उपकरण रहेका छन्। चन्द्रमाको परीक्षणको लागि, अन्तरिक्ष यानले चन्द्रमाको भूकम्प मापन गर्न सिस्मोमिटर सहित धेरै उपकरणहरू बोकेको छ। यस्तो परीक्षणबाट वैज्ञानिकहरूले चन्द्रमाको सतहको तापक्रम र त्यहाँको वायुमण्डलका अन्य तत्वहरू थाहा पाउन सक्नेछन्।
चन्द्रयान–३ ले स्पेक्ट्रो–पोलारिमेट्री अफ भिजिबल प्लानेट अर्थ (एसएचएपीइ) पनि बोक्ने छ, जसले वैज्ञानिकहरूलाई चन्द्रमा र हाम्रो सौर्यमण्डल बाहिरका अन्य ग्रहहरूको परिक्रमा गर्ने सानो ग्रहहरूको बारेमा जानकारी सङ्कलन गर्न महत्त्वपूर्ण डाटा प्रदान गर्नेछ। उसले के त्यहाँ जीवन सम्भव छ भन्ने अध्ययन गर्नेछ।
चन्द्रयान–३ किन यति महत्वपूर्ण छ?
चन्द्रयान–३ को मिसन भारतका लागि मात्र नभई सम्पूर्ण विश्वको वैज्ञानिक समुदायका लागि पनि महत्त्वपूर्ण छ।
ल्यान्डर चन्द्रमाको त्यो सतहमा जानेछ, जसको बारेमा अहिलेसम्म कुनै जानकारी उपलब्ध छैन। त्यसैले यो अभियानले हाम्रो पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह चन्द्रमाको जानकारीमा थप वृद्धि हुनेछ।
यसले चन्द्रमाको बारेमा मात्र नभई अन्य ग्रहहरूको बारेमा पनि भविष्यको अन्तरिक्ष अनुसन्धानको क्षमता विकास गर्नेछ।
यति बुझिरहँदा भारतको यसअघिका चन्द्र मिसनहरूमा के भयो ? भन्ने प्रश्न पनि आउन सक्छ। चन्द्रयान–३ चन्द्रमाको बारेमा इसरोको प्रक्षेपण गर्न लागेको तेस्रो अन्तरिक्ष अभियान हो, यसलाई भारतीय चन्द्र अन्वेषण कार्यक्रम पनि भनिन्छ।
भारतले आफ्नो पहिलो चन्द्रयान मिसन चन्द्रयान–१ सन् २००८ मा प्रक्षेपण गरेको थियो। यसमा अर्बिटर र इम्प्याक्ट प्रोब पनि थियो तर यो श्याकलटन क्रेटर नजिकै दुर्घटनाग्रस्त भयो। पछि यस ठाउँको नाम जवाहर पोइन्ट भयो। योसँगै भारत चन्द्रमामा झण्डा फहराउने विश्वको चौथो देश बनेको छ। यसअघि अमेरिका, रुस र जापानले यो सफलता हाँसिल गरेका थिए।

त्यसपछि यसको प्रक्षेपणको ३६५ दिन पछि, यसको पृथ्वीसँग सम्पर्क बिच्छेद भयो। तर सञ्चार सम्पर्कविहीन हुनुअघि नै यस अभियानको ९५ प्रतिशत लक्ष्य हासिल भइसकेको जानकारी इसरोले दिइएको थियो।
यद्यपि त्यसबेला प्राप्त मिश्रित सफलता भारतको अन्तरिक्ष कार्यक्रममा ठूलो कदम थियो। चन्द्रयान–२ ले चन्द्रमामा पानीका कणहरू पत्ता लगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो। १० वर्ष पछि, २२ जुलाई २०१९ मा, चन्द्रयान–२ विक्रम ल्यान्डर र प्रज्ञान रोभर संगै प्रक्षेपण गरियो।
तर ६ सेप्टेम्बर २०१९ मा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङको प्रयास गर्दा विक्रमको ल्यान्डरसँग सम्पर्क टुट्यो। तीन महिना पछि, नासाको एक उपग्रहले यसको भग्नावशेष फेला पार्यो र यसको तस्वीर जारी गर्यो।
विक्रम ल्यान्डर असफल भयो तर अर्बिटरले चन्द्रमा र यसको वायुमण्डलको बारेमा महत्त्वपूर्ण जानकारी सङ्कलन गर्ने काम जारी राख्यो। अब भारतले आफ्नो चन्द्रयान–३ मिसन प्रक्षेपण गर्न लागेको छ।
आर्टेमिस सम्झौता के हो ?
चन्द्र अभियान जस्ता कार्यक्रममा काम गरिरहेको देश भारत मात्र होइन।
सायद तपाईंले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्टेमिस सम्झौताको बारेमा सुन्नु भएको होला। यस कार्यक्रमअन्तर्गत आर्टेमिस–१ अन्तरिक्षयान गत वर्ष चन्द्रमामा फर्किएको थियो। भविष्यको आर्टेमिस मिसन अन्तर्गत, नासाले २०२५ सम्ममा फेरि एकपटक चन्द्रमामा मानिसलाई अवतरण गर्ने योजनामा काम गरिरहेको छ।
जापान, दक्षिण कोरिया, चीन र रुसले पनि आफ्नै चन्द्रमा मिसनमा काम गरिरहेका छन्, जसमध्ये केहीले युरोपेली संघबाट पनि सहयोग प्राप्त गरेका छन्।
नासा र अमेरिकी विदेश मन्त्रालयले विभिन्न देशको चन्द्रयान मिसन समन्वय गर्न आर्टेमिस सम्झौता स्थापना गरेको थियो।
यो एक बहुपक्षीय गैर(बाध्यकारी व्यवस्था हो जसले नागरिक अन्वेषण र चन्द्रमा, मंगल र अन्य आकाशीय पिण्डहरूको शान्तिपूर्ण प्रयोगमा सहयोगको लागि एक रूपरेखा प्रदान गर्दछ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भर्खरैको अमेरिका भ्रमणका क्रममा आर्टिमिस सम्झौतामा भारत औपचारिक रूपमा सामेल भएको थियो। तर यी देशहरूले आफ्नो चन्द्र अभियानमा यति ठूलो रकम खर्च गर्नुको कारण के हो ? यो निकै रोचक छ।
कसैले यसलाई नयाँ युगको अन्तरिक्ष दौड भनेका छन् भने कसैले यसलाई आफ्नो प्राविधिक क्षमता देखाउने अवसर भनेका छन्।
जहाँसम्म भारतको सवाल छ, चीनसँगको प्रतिस्पर्धालाई नकार्न सकिँदैन। भारतको यो छिमेकी देश चीनले चाङ–ए–६, चाङ–ए–७ र चाङ–ए–८ मिसनलाई स्वीकृति दिएको छ र रुससँग मिलेर चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने योजना पनि छ।
तर अन्तरिक्ष दौडबाहेक, त्यस्ता सबै अभियानहरू भविष्यका चन्द्र अभियानहरूका लागि धेरै महत्त्वपूर्ण छन्। मंगल मिसनको सन्दर्भमा यी अभियानहरूको विशेष महत्त्व छ।
युनिभर्सिटी अफ पोर्ट्समाउथको अन्तरिक्ष परियोजनाका परियोजना प्रबन्धक डा लुसिन्डा किङले भनेकी छन – पृथ्वीबाट टाढा अन्तरिक्षमा जानभन्दा चन्द्रमामा जान कम इन्धन लाग्छ।
भविष्यका केही मिसनहरूमा यस्ता महत्त्वपूर्ण कुराहरू पनि चन्द्रमामा पठाइनेछ जसले गर्दा यो दशकमा मानिसहरू लामो समयसम्म त्यहाँ बस्न सकून्।
आदित्य–एल १ के हो?
चन्द्रयान–३ यस वर्ष भारतको सबैभन्दा ठूलो अन्तरिक्ष अभियान होइन। भारतले सूर्यको अध्ययनका लागि यसै वर्ष अन्तरिक्ष मिसन पठाउने तयारी गरेको छ।
आदित्य–एल १ भारतको पहिलो सौर्य मिसन हो। यस मिसनमा पठाइएको अन्तरिक्ष यानले सूर्यमा जाने छैन, तर पृथ्वीबाट १५ लाख किलोमिटर टाढा रहेको सूर्यलाई पुग्न सकिने सबैभन्दा नजिकबाट अध्ययन गर्नेछ।
एल–१ अथवा लङ रेन्ज पोइन्ट पृथ्वी र सूर्य बीचको त्यो स्थान हो जहाँबाट सूर्य ग्रहणको अवरोध बिनै देख्न सकिन्छ।
आदित्य–एल१ ले माथिल्लो सौर्य वायुमण्डल (क्रोमोस्फियर र कोरोना), चुम्बकीय क्षेत्र टोपोलोजी र सौर्य वायु आदिको अध्ययन गर्नेछ। अहिलेसम्म नासा, जर्मन एरोस्पेस सेन्टर र युरोपेली अन्तरिक्ष एजेन्सीले मात्रै सूर्यको अध्ययनका लागि अन्तरिक्ष मिसनहरू पठाएका छन्।



