काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ।
नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको संघले जानकारी दिएको छ ।
त्यस्तै, शनिबार सम्पन्न भलिबल लिगको आर्मी र गण्डकीबीचको खेलमा हरी हजुर दर्शकप्रति आक्रोषित भएको भलिबल संघको ठहर छ। सो खेलमा भलिबलका धनबहादुर भट्टले दर्शकलाई मुक्का प्रहार गरेपछि संघले उनलाई कारबाहीस्वरुप प्रतिबन्ध पनि गरिसकेको छ।
सो घटनामा हरीहजुर पनि समेल भएको भनि संघले उनलाई गएको शनिबार नै प्रतिबन्ध गर्ने निर्णय गरेको हो। यता सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरि निरन्तर खेल्दै आएका मानबहादुरलाई संघले कप्तानीको जिम्मेवारी दिने भएको हो।
उनी विगत आठ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आइरहेका थिए। यता भलिबल संघले गएको भलिबल छनोटमा तत्कलिन कप्तान इम राना मगर नआएपछि हरीहजुरलाई नयाँ कप्तान घोषणा गरेको थियो। उनको कप्तानीमा नेपालले सेन्ट्रल जोन भलिबल प्रतियोगिता खेलिसकेको छ। तर उक्त प्रतियोगितामा नेपालले कुनै खेलमा पनि जित निकाल्न सकेन।
यससँगै, गत महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो।
यि दुवै खेलाडी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाटठ घरेलु लिग खेल्दै आइरहेका छन्। मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन्। मानबहादुरले बीच भलिबलको पुरुषको टोलीको पनि कप्तानी गरिसकेका छन्।


