काठमाडौँ– नेपाल महिला फुटबल टिमलाई बहुराष्ट्रिय कम्पनी युनिलिभरले एक वर्षको लागि २५ लाखको सम्झौता गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रयोजक र अखिल नेपाल फुटबल संघ(एन्फा) ले सम्झौता गरेका हुन्।
युनिलिभर नेपालले महिला फुटबलको प्रगतिलाई र उसले पाएको उपलब्धिलाई सम्मान गर्दै आउँदो दिनमा थप ऊर्जा मिलोस् भन्ने मनाशयले सहयोग गरिएको बताएको छ।
‘लैंगिक समानतालाई प्रवर्द्धन गर्न साथै महिला टिमको विलक्षण प्रतिभालाई उच्च सम्मान गर्नका लागि साथै विश्वको मञ्चमा महिला टिम चम्कियोस भन्नको लागि हामीले यो सहकार्य गरेको हो,’ युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले भनेका छन्।
यता एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली महिला टिमले आउँदो २०२७ र २०३१ को फिफा महिला फुटबलमा सहभागी बन्न सक्ने गरी तयारी थाल्ने बताएका छन्।
‘थोरै होला तर एन्फाले महिला पुरुष खेलाडीलाई समान तलब भत्ताको व्यवस्था गरेको छ। हामी महिला र पुरुष दुवैको फुटबलको विकास चहान्छौं,’ नेम्बाङले भनेका छन्।
‘विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुले प्रगति गर्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिलाहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तकरणमा पनि खेलकुदको क्षेत्रमा दियो र सम्भावनाहरुको धार तयार गर्ने उल्लेखनीय योगदान पुयाउन खोजेको छ,’ प्रायोजकले विज्ञप्तिमा लेखेको छ।
सम्झौता कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यो प्रयोजले भविष्यको फुटबल खेल्ने पुस्ताको लागि पनि ऊर्जा हुने बताएकी छन्। साथै उनले प्रयोजक र एन्फालाई धन्यवाद दिएकी छन्।
एन्फा अध्यक्षले यो सम्झौताले महिला टिमले विश्वकप खेल्न सहयोग पुग्ने बताएका छन्। यता खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पनि नेपाली खेलाडीको वृत्ति विकासका लागि काम गरिरहेको बताएका छन्।
‘नेपाली खेलाडीको वृत्ति विकासका लागि साझा प्रयत्नको आवश्यकता रहेको छ। हामी खेलाडीको सेवा र सुविधाको लागि प्रयत्नरत छौं। हामी सुरक्षित रुपले खेल्ने वातावरण बनाउँछौं,’ मन्त्री लिम्बूले भने, ‘हामी पूर्वाधार विकासबारे पनि काम गरिरहेका छौँ।’


