काठमाडौं – जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका चार खेलाडी सहभागी हुँदैछन्। त्यहाँ सहभागी हुन जाने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डा सहित बिदाई गरेका छन्।
ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्ने नेपाल ओलम्पिक संघले जानकारी दिएको छ।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेको जानकारी दिएका छन्।
त्यस्तै, अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेशमा सहभागिता जनाउने छन्। यस्तै उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।
२५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन्। २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्। २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन्।
सदस्य सचिव घिसिङ्गले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरुलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पियकमा छनौट हुन सफलताको शुभकामना प्रदान गरे। टोली बुधबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


