काठमाडौँ- नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विगतमा केन्द्रीय समिति बैठकमा एउटा कुरा बोल्ने र बाहिर अर्कै कुरा बोल्ने प्रवृत्तिलाई लाइभ प्रसारणले बन्द गरिदिएको बताएका छन्। बुधबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै नेता शाहीले यस्तो बताएका हुन्।
‘भित्र एक बोल्ने र बाहिर अर्को एक बोल्ने काम हुन्थ्यो। लाइभले राम्रै काम गरेको छ,’ उनले भने। नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको लाइभ हेरेर हुम्लादेखि पनि प्रतिक्रिया दिएको बताए। ‘लाइभ गर्दा त्यो रेसपोन्स आयो। हिजोका कुरा गरेर अहिलेको जेनेरेसनले सुन्न तयार छैन। लाइभ गर्ने निर्णय उत्साहजनक छ,’ उनले भने।
कर्णालीमा संगठनमा सुधार भएको उनको भनाइ थियो। आफू कहिल्यै कुनै पनि नेताको घरमा नभएकाले आफ्ना विरुद्धमा लाग्ने काम भएको उनको गुनासो थियो। पार्टीका काम गरेपछि सही ढंगले अघि बढ्नुपर्ने र एकले अर्कालाई दोष लगाउने काम राम्रो नभएको उनले बताए। सभापति, महामन्त्रीहरुलाई साथ दिने बताएका उनले एकजुट भएर विधि र विधानअनुसार पार्टीलाई अघि बढाउनुपर्ने बताए।


