काठमाडौँ– नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले महामन्त्रीको कार्यक्रम वार्षिक क्यालेन्डर राम्रो भएपनि त्यसमा प्रदेश समितिलाई उपेक्षा गरिएको बताएका छन्। बुधबार केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन्।
‘महामन्त्रीको कार्यक्रम वार्षिक क्यालेन्डर राम्रो छ। तर प्रदेशलाई उपेक्षा गरिएको छ। प्रदेश पनि पार्टीकै अंग हो,’ उनले भने, ‘बलियो बनाउने, संस्थागत बनाएर जाने कुरामा केन्द्रको भूमिका हुन्छ। प्रदेशलाई बाहिर राख्ने काम भएको छ।’
जिल्लाका कार्यक्रम संचालन गर्दा प्रदेशमार्फत संचालन गर्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ। ७७ जिल्लाका सभापतिलाई बोलाउँदा प्रदेशसभापतिलाई जानकारी नदिइएको भन्दै उनले गुनासो गरे। ‘एकै चोटी केन्द्रबाट शासन गर्न भन्दा संस्थागत कार्य सञ्चालन गर्नुपर्छ। प्रदेश सभापतिको हैसियत आमन्त्रित सदस्य मात्रै हौं। हामीलाई कमजोर बनाउँदा पार्टी कमजोर हुन्छ,’ उनको गुनासो छ। संगठनलाई उपेक्षा गरेर पार्टी बलियो नबन्ने उनको जिकिर थियो।
कांग्रेसको विकल्प खोज्न थालिनु कांग्रेसका लागि मात्र नभएर देशकै लागि दुर्भाग्य हुने उनको भनाइ थियो।
‘२०३३ सालमा यस्तै थियो। पार्टी कमजोर थियो र विदेशी क्रिडास्थल थियो। रसियनहरुले बीपीलाई राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए। तर विदेशीको प्रस्ताव बीपीले स्वीकार गर्नुभएन,’ उनले थपे, ‘भारतीय चाइनिज र अमेरिकनको सक्रियता बढेको छ। हामी टाउकाको गन्ती गर्दैछौं। देशलाई बचाउन कांग्रेस गम्भीर बनेर अघि बढ्न जरुरी छ।’


