काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले पार्टी सभापति शेरबहादुर देउवालाई गाली गर्ने छुट कसैलाई पनि नभएको बताएकी छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेतृ देवकोटाले यस्तो बताएकी हुन्।
‘सभापतिका बारेमा तथानाम गाली गर्ने छुट कसैलाई छैन। सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुन्छ। पार्टी कमजोर बनाउने छुट कसैलाई पनि छैन,’ उनको भनाइ छ।
उनले सरकार फेरिने हल्ला चलाइएको समेत उल्लेख गरिन्। यस्तो अवस्थामा पार्टी सभापतिले सुझबुझपूर्ण निर्णय लिने विश्वास आफूलाई लागेको उनको भनाइ छ।
उनले पार्टीका महामन्त्री गगन थापाको समेत आलोचना गरिन्। थापाका अभिव्यक्तिले गलत सन्देश जाने उनको भनाइ छ। ‘शेरबहादुर पार्टीबाट चल्दैन भन्ने महामन्त्रीले शेरबहादुरबाटै सिकेको हुँ भन्ने कुराले के सन्देश हुन्छ,’ उनले उल्लेख गरिन्।
खाडी मुलुकमा रहेका मजदुरहरुको मनमा बस्न नसकेसम्म देश र कांग्रेसको भविष्य सुन्दर नहुने उनको ठहर छ। उनले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएर कोषाध्यक्षमा महिला ल्याउन अनुरोध समेत गरिन्।


