काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी पार्टीका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन्। पार्टी केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा बुढाथोकीले शर्मामाथि आक्रोश पोखेका हुन्।
झापा जिल्ला कार्यसमितिले विधानविपरीत सल्लाहाकारको जम्बो समिति बनाएको तर कांग्रेस महामन्त्री शर्माले टुलुटुलु हेरेर बसेको भन्दै उनी आक्रामक रूपमा प्रस्तुत भएका हुन्। ‘झापा जिल्ला सभापतिले १० जनाको समिति र ५३ जनाको सल्लाहकार बनाएको छ। विधानले दिन्छ? महामन्त्री जिल्लाको नेता टुलुटुलु हेरेर बस्न मिल्छ? के गर्दैहुनुहुन्छ तपाई? हु आर यू? ननसेन्स!’
कोशी प्रदेश नामकरणमा पार्टी नबोलेकोप्रति उनको गुनासो थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नाम राखेकोमा लहैलहैमा कांग्रेस पनि त्यतै लागेको उनको भनाइ छ।
प्रदेशको नामकरणको विषयमा पार्टीका महामन्त्री र सभापति मौन बसेको भन्दै उनले प्रश्न उठाएका थिए। ‘पहिचानसहितको नाम मागिरहेका छन्। कांग्रेस चुप लागेर बसेको छ। आन्दोलनकारीसँग बसेर सल्लाह नगर्ने हो भने चुनावमा नगए हुन्छ,’ उनले कोशीमा सरकार गठनको शैली प्रति पनि प्रश्न उठाए, ‘सिटौलाजी संविधान बनाउँदा नेतृत्वमा हुनुहुन्थ्यो। सभामुखले मत हालेर बहुमत पुर्याएर सरकार बनाउन मिल्छ? कांग्रेसले टुलुटुलु हेरेर बस्ने? चिफ मिस्टर मान्ने कि ठिक छैन भनेर बस्ने?’
भातृसंस्थामा नेताहरूले छोराछोरी र आफन्त ल्याएको भन्दै उनले व्यंग्य गरे, ‘महिला संघ बनाउनुभयो भने मेरी श्रीमती बनाइदिनुपर्यो!’
अन्त्यमा सभापति देउवासँग उनको रोचक संवाद पनि भएको थियो।


