डब्लिन– डिजिटल बजारको रेखदेख गरिरहेका युरोपेली आयुक्तले बुधबार भिडियो सेयरिङ एप टिकटकलाई यूरोपेली संघ (ईयू)को नयाँ मापदण्ड अपनाउने कामलाई तीव्रता दिन चेतावनीमूलक आग्रह गरेका छन्।
पारदर्शिता, तथ्याङ्क गोपनीयता, बाल संरक्षण, भ्रामक सूचना र घृणास्पद भाषणसम्बन्धी कडा नयाँ युरोपेली नियमहरू अर्को महिनाबाट लागू हुनेछन् र विशाल इन्टरनेट सेवा प्रदायकहरू यसको पालना गर्न दौडिरहेका छन्।
सोमबार टिकटकले डब्लिनस्थित युरोपियन हेडक्वार्टरमा आफ्नो सिस्टममा ‘स्ट्रेस टेस्ट’ गरेको थियो। यसले ‘ईयू डिजिटल सर्भिसेज एक्ट’को पालना गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गरिरहेको छ।
त्यसपछि युरोपेली आयुक्त थियरी ब्रेटनले टिकटकका प्रमुख कार्यकारी अधिकृत शो जी च्यूलाई फोन गरेर चेतावनीको शैलीमा भने, ‘अब पूर्ण रूपमा पालना गर्ने समय आएको छ।’
गत जुन महिनामा बेलायतले अमेरिकी प्लेटफर्म ट्वीटरलाई पनि यस्तै सन्देश पठाएको थियो। उसले यस्तै तनाव परीक्षण गरेको थियो, जुन शंकास्पद सामग्रीलाई जाँच गर्न डिजाइन गरिएको थियो।
‘ईयू डिजिटल सर्भिसेज एक्ट’ ले नोभेम्बरमा कानूनी रूप पाएको थियो। अमेजन, एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट जस्ता वेबका १९ ठूला कम्पनीहरूलाई कानुनी दायरामा आउन अगस्ट २५ सम्म समय दिइएको छ।


