धरान- चैत्र ५ गते कोशी प्रदेश नामकरणको विरोध कार्यक्रममा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको छ। निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न जानेक्रममा प्रहरीको लाठी प्रहारबाट घाइते लिम्बूको शुक्रबार बिहान २:३० बजे मृत्यु भएको हो।
टाउकोमा गम्भीर चोट लागेका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचारको क्रममा मृत्यु भएको हो।
बुधबार राति बान्ता गरेपछि बेहोस भएका उनलाई बीपी अस्पताल पुर्याइएको थियो। उनलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लैजाने तयारी भइरहँदा मृत्यु भएको प्रदेश नम्बर १ पुन:नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ।
लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए। लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने समितिको माग छ।
२०३७ सालमा तेह्रथुम जिल्लाको साब्लामा जन्मिएका लिम्बू मोरङ जिल्लाको लालभित्ती हुर्किबढीका स्थायी बासिन्दा हुन्। उनी पछिल्लो समय धरानमा बसोबास गर्दै आएका थिए।


