काठमाडौँ- राजस्व अनुसन्धान विभागले रेडी ट्रेडर्सको गोदाममा छापा मारेको छ। बुधबार विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको हो।
गोदामबाट ६६ कार्टुन ब्रेकप्याड बरामद गरिएको विभाग स्रोतको भनाइ छ। ती कार्टुनमा सुन राखिएको हुन सक्ने आशंकामा ब्रेकसु बरामद गरिएको हो। त्यसमा सुन नाप्ने मेसिनलगायतका सामग्री पनि बरामद भएको बताइएको हो।
साउन २ गते विमानस्थल भन्सारबाट पास भइसकेको ८ कार्टुन ब्रेकसु विभागको टोलीले बरामद गरेको थियो। ब्रेकसुभित्र झन्डै एक क्विन्टल सुन भएको विभागको भनाइ छ। नेपाल राष्ट्र बैंकले ती कार्टुनको तौल १५५ केजी भएपनि त्यसमा सुनको मात्रा कति छ भन्ने खुलाएको छैन।
ती ब्रेकसु रेडी ट्रेडर्सले भित्र्याएको थियो। ट्रेडर्सले यसअघि पनि त्यसै गरी ब्रेकसु भित्र्याएका कारण थप सुन भित्र्याएको हुन सक्ने आशंकमा ट्रेडर्सको गोदामा छापा हानी ६६ कार्टुन ब्रेकसु बरामद गरिएको हो।


