काठमाडौं– महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंक शाखा लुटपाटमा संलग्न भारतीय नागरिक पक्राउ परेको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा भारत बिहारको मधुवनीका २० वर्षीय अजयकुमार साफी रहेको महोत्तरी प्रहरीले जानकारी दिएको हो।
महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक शाखामा १६ जेठ दिउँसो चार–पाँच जनाको समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ तथा कर्मचारीका मोबाइल लुटेका थिए।नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख लुटेको बताइए पनि पछि १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो।
बैंक डकैतीमा साफी संलग्न रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीको भनाइ छ।
प्रहरीले साफीलाई बुधबार बेलुकी महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेकाले छिट्टै पक्राउ गरिने जिल्ला प्रहरी प्रवक्ता गिरीले दाबी गरे।


