काठमाडौं–डेंगुु संक्रमण ५ हजार बढीमा देखिएको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ। तीमध्ये आधा जति सुनसरीमा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार ६८८ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी सुनसरीमा ३ हजार ४८६ जनामा डेंगुुको संक्रमण देखिएको छ।
उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा संक्रमण दैनिक बढिरहेको बताए। १० साउनमा ४ हजार ६१९ जनामा देखिएको संक्रमण त्यसपछिको पाँच दिनमा त्यो संख्या बढेर ५ हजार ६८८ मा पुगेको छ। डेंगुु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगुु रोग लाग्दछ।
यसपटक कोसी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोसीमा ३ हजार ८२१, बागमती प्रदेशमा ९६२, गण्डकी प्रदेशमा ३५७, सुदूरपश्चिम प्रदेशमा ३२५, लुम्बिनी प्रदेशमा १७०, कर्णाली प्रदेशमा २७ र मधेस प्रदेशमा २६ जनामा संक्रमण देखिएको छ।
१० जिल्लामा बढी संक्रमण
नयाँ देखिएका बिरामीमध्ये ४ हजार ९३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्। सबैभन्दा बढी सुनसरीमा ३ हजार ४८६, धादिङ ६५५, कास्की २ सय आठ, दार्चुला १९१, काठमाडौं ९६, संखुुवासभा ७५, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेंगुुका बिरामी भेटिएका छन्।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगुु देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ। पुसयता डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको छ। अहिलेसम्म डेंगी संक्रमण ७० जिल्लामा पुगेको छ।


