नेपालगञ्ज- भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी दुई नेपाली परिवारका ६ जनाको मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। सडकमा रहेको गाईलाई बचाउन खोज्दा कार दुर्घटनामा परेको बताइएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा नेपालगञ्ज सदरलाइन ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता छन्। यस्तै नेपालगञ्ज त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको पनि मृत्यु भएको राठौरले बताए। निलान्स र सुनिती मामाघर घुम्न गएका थिए। माइतीमा रहनुभएकी श्रीमती दिपीकालाई लिएर फर्किने क्रममा थिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ।
मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।


