काठमाडौँ- प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन्। सोमबार सभामुखको नेतृत्वमा प्रधानमन्त्री र कांग्रेस, एमालेका शीर्ष नेताहरू दुई पटक बैठक बसेपनि निर्णयविहीन भएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो।
मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीनै दलका प्रमुख सचेतक उपस्थित छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा एमालेले अडान लिएका कारण संसद सञ्चालन हुन सकेको छैन। दिउँसो ३ बजेको लागि बोलाईएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबिच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो।
हिजो १ बजेका लागि बोलाईएको प्रतिनिधि सभा बैठक शीर्ष दलको नेतृत्वसँग कुरा नमिल्दा सूचना मार्फत ४ बजेका लागि सारिएको थियो। तर उक्त समयसम्म पनि तीन दलबीच कुरा नमिलेपछि बैठक बस्न सकेको थिएन। यसपछि मंगलबार दिउँसो ३ बजेका लागि डाकिएको छ।
सोमबार राष्ट्रिय सभामा एमाले सांसदले अवरोध गरेपछि स्थगित भएको थियो। एमालेले १२ साउन देखि संसद अवरोध गर्दै आएको छ। मंगलबार शीर्ष नेताको छलफलले निष्कर्ष ननिकाले प्रतिनिधि सभा बैठक पनि अन्योलमा पर्नेछ।


