काठमाडौँ- प्रतिनिधि सभाको मंगलबारको बैठक सुरू भएको छ। साउन १० गतेदेखि अवरोध भएको सदन १५ दिनपछि खुलेको हो।
बैठक सुरू हुनेबित्तिकै एमाले र रास्वपाका सांसद उठेर विरोध गरे सभामुखले बोल्ने समय दिएपछि सदन खुलेको हो। अहिले दलगत रूपमा सांसदहरूले धारणा राखिरहेका छन्।
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका छन्। दलगत प्रतिनिधित्व हुने गरी सांसदहरूले धारणा राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्यक्रम छ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदलाई नियमित कार्यसूचीमा लैजान सबै दलहरू सहमत भएका हुन्। सांसदहरूले बोलिसकेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन्।
साउन २ गते त्रिभुवन विमानस्थलबाट झन्डै १ क्विन्टल सुन बरामद् भएको थियो। त्यसबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको थियो।











