काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा कुनै पार्टीको भए पनि नछाडिने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभामा विभिन्न दलका सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले बताएका हुन्।
यो प्रकरणमा थप अनुसन्धानको लागि सर्वोच्च अदालतले आधार बनाइदिएको पनि बताए। ‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौँ। हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौँ,’ उनले भने, ‘अहिले सिआईबीले अनुसन्धान गरिरहेको छ। हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ। को मान्छेलाई तान्ने कसलाई छुट दिने हामी गर्दैनौँ। हामी कानूनलाई लागू गर्छौँ। प्रमाणको आधारमा अघि बढ्छौँ।’
अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यसैलाई अभियोजनको अधिकार पनि हुने भएकाले सीआईबीलाई अनुसन्धान गर्न दिइएको उनको भनाइ छ। ‘माओवादी वा अन्य जनु पार्टीको भएपनि अनुसन्धानले दोषी देखिए सरकारले कारवाही गरेरै छाड्छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा पनि अनुसन्धान जारी छ। दोषी जहाँ भएपनि त्यहाँसम्म सरकार पुग्छ।’


