काठमाडौं– देशैभर सोमबार रातीदेखि निरन्तर भइरहेको वर्षाका कारण पछिल्लो २४ घन्टामा विभिन्न १४ स्थानमा बाढीपहिरो जाँदा दुई जनाको मृत्यु र पाँच जना बेपत्ता भएको गृह मन्त्रालयको विपद् महाशाखाले जनाएको छ। पहिरोमा परेर मकवानपुर र धनुषाका नागरिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको हो।
बाढीपहिरोमा परेर हालसम्म सात जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए। पाल्पामा पहिरो जाँदा तीन जना घाइते भएका छन्। निरन्तरको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत तराईका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका छन्। अविरल वर्षा, बाढीपहिरो र डुबानमा परेर दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका र ९ घरपरिवार पूर्ण प्रभावित भएको खड्काले बताए।
कैलालीमा ठूलो वर्षासँगै आएको पहिरोले अवरुद्ध भीमदत्त राजमार्ग नखुल्दा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ। गोदावरी नगरपालिका–४ को बुढितोलामा सोमबार राती आएको पहिरोसँगै करिब दुई सय मिटर भासिएपछि अवरुद्ध राजमार्ग सञ्चालन हुन नसकेको हो।
डिभिजन सडक कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहे पनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ। मध्यक्षेत्रको काठमाडौं उपत्यकामा सोमबार र मंगलबार रातैभरि वर्षा हुँदा बागमती, विष्णुमती, रुद्रमतीलगायतका ठूला तथा साना नदीको बहाव बढेर विभिन्न क्षेत्रलाई डुबानमा पारेको छ।
चितवन, मकवानपुर, नवलपरासी क्षेत्रमा पनि वर्षाले नारायणी, राप्तीलगायतका ठूला तथा मझौला नदीको पानी स्तर बढेको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा ४२४.२ मिलिमिटर मापन भएको छ।
गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। वैशाखयता बाढीपहिरोलगायत घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ बेपत्ता र ४ हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ।


