संखुवासभा– संखुवासभा कारागारमा दुई जना कैदीको हत्या भएको छ। कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको संखुवासभा कारागारले जानकारी दिएको छ।
मृत्यु हुनेमा मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङ्गी र ककनी गाउँपालिका-७, नुवाकोटका २८ वर्षीय आकाश वलामी छन्। विनोद बलात्कार मुद्दाका दोषी हुन् भने आकाश चोरी मुद्दामा जेल परेका थिए।
उनीहरू मंगलबार राति कारागारको झ्याल तोडेर भागेका थिए। दुवैलाई पक्राउ गरेर पुनः कारागारमा लगिएको थियो। कैदीले नै कुटपिट गरी हत्या गरेको कारागार प्रशासनको दाबी छ।
कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ। मृतकको शव जिल्ला अस्पताल लगिएको छ।


