काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा १० हजार ७२६ जनामा डेंगु संक्रमण देखिएको हो।
समण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ। लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले बताए।
डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनको भनाइ छ। सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।
संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएका छन्। महाशाखाका अनुसार सुनसरीमा ६ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ।
मन्त्रालयका अनुसार कोसीमा ८ हजार एक सय ९, बागमतीमा १ हजार चार सय ५३, गण्डकीमा चार सय ७१, सुदूरपश्चिममा तीन सय ९३ जना, लुम्बिनीमा दुई सय १५, मधेसमा ५७ र कर्णाली प्रदेशमा २८ जनामा संक्रमण देखिएको छ। नयाँ देखिएका बिरामीमध्ये नौ हजार ६ सय १२ (८९.६० प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन्।
सुनसरीपछि मोरङ एक हजार तीन सय ४४, धादिङ एक हजार २७ जना, कास्की दुई सय २५ जना, धनकुटा दुई सय २३, दार्चुला एक सय ९२ जना, झापा एक सय ८२, काठमाडौँ एक सय ५१ संखुवासभा एक सय ४८ जना र तनहुँ ७९ जनामा डेंगुका बिरामी भेटिएका छन्।
नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो। लामखुट्टेबाट बच्न सरकारी स्वास्थ्य संस्थाबाट जारी स्वास्थ्य निर्देशिका पछ्याउन मन्त्रालयले आग्रह गरेको छ।


