काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आशंकामा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ। सीआईबीले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा कांग्रेस सांसद सुनील शर्मासहित पाँच चिकित्सक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा–८ का डा. रञ्जीतकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना साह रहेका छन्। सीआईबी टोलीले साहलाई काठमाडौंबाट र यादवलाई रौतहटबाट पक्राउ गरेको हो।
सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकैसाथ अपरेसन चलाएको थियो। सीआईबीले कांग्रेस सांसद शर्मालाई गोल्फुटारस्थित उनको घरबाटै पक्राउ गरेको थियो।
शर्माले आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र लिएर थप अध्ययन गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सांसद शर्मा पक्राउबारे सीआईबीले आजै संसद् सचिवालयलाई जानकारी गराइसकेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि सीआईबीले अनुसन्धानका क्रममा आशंकितलाई पक्राउ गरेको उनको भनाइ छ।


