काठमाडौँ– बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएर ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। नेपाल हुँदै विभिन्न देश पठाइदिने भन्दै नेपालमा ल्याई बन्धक बनाई फिरौती माग गरेको अभियोगमा बंगलादेशका नागरिक ५ जना र नेपाली नागरिक २ जना गरी ७ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा बंगलादेश गाजीपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय मो. मोसहुर रहमान, बंगलादेशका २१ वर्षीय जाहाङ्गिर अलाम, ललितपुर हरिसिद्धि बस्ने बंगलादेश कुमिल्लाका ३८ वर्षीय सलिम मिया छन्। यस्तै काठमाडौं हाडीगाउँ बस्ने बंगलादेश ढाकाका २१ वर्षीया तहमिना बेगम, सिन्धुपाल्चोक बेलफी घर भई ललितपुर हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली र ईलाम चुलाचुली घर भई काठमाडौं नक्साल बस्ने ३३ वर्षीया रोशनी राई छन्।
नेपाली र बंगलादेशी ठगहरूले मिलेर बंगलादेशी नागरिकहरुलाई काठमाडौंको विभिन्न होटल तथा सेफ हाउसमा बन्धक बनाई राखेका थिए। यसपछि उनीहरूका परिवारका सदस्यहरुसँग १० लाख फिरौती माग गरेका थिए। त्यसरी फिरौती नदिएमा ज्यानसमेत लिने धम्की दिएका थिए। यद्यपि पीडितको परिवारले उनीहरूलाई १० लाख टाका दिएका थिए। रकम पठाएपश्चात पनि पुन: २० लाख टाका माग गर्दै डर त्रास दिएका थिए।
यसपछि भने प्रहरीमा उजुरी परेको थियो। उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले अपरेसन ब्राभो किलो चलाएको थियो। यही अपरेसनका आधारमा कार्यालयको टोलीले काठमाडौं उपत्यकका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
महानगरपालिका-९ कालीमाटीडोलस्थित मेमोरियल गेष्ट हाउस, ललितपुर महानगरपालिका-२८ हरिसिद्धिस्थित घर र काठमाडौं नक्सालस्थित रोशनी राईको केटीसी ब्युटी पार्लर स्पा मसाज सेन्टरमा बन्धक बनाई राखेका पीडितहरूलाई उद्धारसमेत गरेको छ।
पक्राउ परेकाहरुमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।




