काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको दाबी गरेको छ। सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जिकिर गरेका हुन्।
‘हाल पक्राउ परेका डा रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको यकिन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखीराख्न आवश्यक नदेखिएकाले जिम्मा जमानीमा छाडिएको छ,’ सीआईबीको जिकिर छ।
सीआईबीले डा यादवलाई लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा यही साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो। सीआईबीले काठमाडौँ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालेको थियो।
यसअघि सीआईबीले नियन्त्रणमा लिएका सांसद सुनील शर्मा पनि जिल्ला अदालतको आदेशले रिहाइ भएका छन्। सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अन्य छ चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


