काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वन्द्वकालमा २१ जना माओवादी कार्यकर्तासहितको हत्या भएको स्थान रामेछापको दोरम्बा पुगेका छन्। नेकपा माओवादी केन्द्र, दोरम्बा थैलड गा.पा संगठन समितिले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल दोरम्बा पुगेका हुन्।
माओवादीका उपमहासचिव जनार्दन शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि प्रचण्डसँगै दोरम्बा पुगेका छन्।
२०६० श्रावण ३२ गते युद्धविराम भएको बेला सेनाले २१ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो। एकजना सर्वसाधारणको घरमा माओवादी बैठक गरिरहेका थिए। सेनाले त्यहाँ पुगेर घेराबन्दी गरेको थियो। यसपछि २१ जनालाई नियन्त्रणमा लिएर पंक्तिबद्ध गराई गोली हानेर हत्या गरेको थियो।
घटनाका पीडितले हालसम्म पनि न्याय नपाएको र सरकारले हालै संसदमा पेस गरेको द्वन्द्वकालीन घटना निरुपण गर्न बनाइएका आयोगसम्बन्धी विधेयकका कारण पीडितले न्याय नपाउने अवस्था सिर्जना भएको भन्दै एड्भोकेसी फोरमले चिन्ता व्यक्त गरेको छ।
थप तस्बिर











