काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकमा भ्रष्टाचार रोक्न टिप्पणी उठाउनेको हातमा हत्कडी लगाउन नहुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मुलुकमा सुशासन पहिलो शर्त हुनुपर्ने बताए।
उनले भने ‘यो मुलुकमा शुसासन स्थापना गर्न र भ्रष्टचार मुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्र हत्कडी लगाएर हुँदैन्।’
मन्त्री गुरुङले भाषण भन्दा पनि काम गर्न पर्ने बेला आएको र व्यवहारिक काम गरेर विभिन्न समस्याहरुसँग लड्नु पर्ने बताए।
‘मुलुक सुधार्न आफै सुध्रिन आवश्यक छ। आफैले व्यवहारिक भएर देखाउनु पर्छ। भाषण त सबैले गर्छन् भाषण गरेर कोही पनि थाक्दैनन्,’ उनले भने, ‘भाषणले मात्र चिउरा भिज्दैन् नि? त्यसैले अहिले हामीले गफ भन्दा पनि काम गर्नु पर्ने बेला आएको छ।’


