१.
एक दिन अचानक
एक हूल दुःख–सङ्कलक
बोकेर देशभन्दा दोब्बर ठूला बोराहरू
घेर्न पुगे सिंहदरबार
पुरानो कागजमा उनीहरूले जारी गरेको
ऐतिहासिक घोषणापत्रमा लेखिएको थियो—
“देशका नाममा अन्तिम पटक योगदान दिऊँ भनेर
हामी आएका हौँ कबाड टिप्न”
अफसोस !
रद्दी मान्छेहरू यति रद्दी भइसकेका थिए,
कि—
तिनलाई रिसाइकल गर्दा पनि
रद्दी नै मान्छेहरू निक्लिए ।
२.
यो साल त सिंहदरबार ढाल्छौं ढाल्छौं—
कविजीहरू जुलुसमग्न सडकलाई साक्षी राखेर
हरेक साल गर्छन् सङ्कल्प
शब्दका चमचमाउँदा अस्त्रहरू घुम्छन् हावामा फनफनी
सिंहदरबारको गला र तिनका बीच
बस् एक अमलको दूरी हुन्छ
तर, रातारात के हुन्छ कुन्नि !
एउटा कविजी प्रज्ञा–प्रतिष्ठान छिर्छ लुसुक्क
अर्काे कविजी संस्थान पस्छ सुटुक्क
तितरबितर हुन्छन् आयुध धारण गरेका लयहरू
यसरी कविजीहरू सहर्ष बनिदिन्छन् सलामीका कारिन्दा
र, विद्रोहले गुमाउँछ गरिमा
सिंहदरबारले थप्छ आफ्नो आयुमा
अर्काे एक युग ।
३.
हरेक पटक नाइट क्लबमा छापा मारेर फर्केपछि
प्रहरी जवानहरूलाई छोप्छ
एक खालको व्यर्थताबोधले
किनभने, उनीहरूलाई थाहा छ
कुन हो नाङ्गो नाचको असली अखडा ?
४.
मुकुटहरूको रङ्गभूमि हो यो
चलिरहन्छ खेल–तमासा अनन्त
विलापको मोर्चा सम्हालिरहेका आमाहरूमाथि
रोदनरत शिशुहरूमाथि
शासन गरेर कहिल्यै अघाउँदैनन्
राजसी ठाँटहरू
आजको भयानक त्रासदी हो यो—
इतिहासको वर्कसपमा
गोली थाप्न लालायित छातीहरू बनिरहेका छैनन्
५.
ऊ गएको छ खाडी मुलुक
ऊ गएकी छे खाडी मुलुक
ऊ अनि ऊ अभिशप्त छन्
सिंहदरबार पाल्न
तिनका दावा लागेका पेटहरू
उग्रै रिसाएर सोधिरहेका छन्—
“अनाहक हामीलाई किन पापी भन्यौ ?”
६.
देशका नामुद चोरहरू
मतपेटिकाको जादुमय गलैंचामा उड्दै उड्दै
सिंहदरबारको बार्दलीमा अवतरण गर्छन्
आफ्नै सौन्दर्यको सन्निपातले
थला परेको छ लोकतन्त्र ।
७.
सिंहदरबारको ठाउँमा
बरु सार्वजनिक शौचालय भइदिएको भए
त्यो हाजिर हुन्थ्यो जनसेवामा
र, यो फेल्ड स्टेटका मिर्गाैलाहरूले
फेल हुनबाट आफूलाई
अलि समय भए पनि
जोगाउने थिए
८.
फाइल, मिसिल
टिप्पणी, प्रतिवेदन
भाषण, प्रवचन
भेटघाट, कुराकानी
सन्धि, सम्झौता
नीति, प्रणाली
प्रबन्ध, प्रशासन
सूचना, विज्ञप्ति
हुकुम, आदेश…
सिंहदरबार व्यस्त छ, अति… अति… व्यस्त
ऊ गीत गाउन भ्याउँदैन
बाँसुरी फुक्न भ्याउँदैन
गीत गाउन नभ्याउनेले
बाँसुरी फुक्न नभ्याउनेले
मान्छेका दुःखसँग संवाद गर्न पनि भ्याउँदैन
त्यसपछि मुटु इस्पात बन्छ
र, इस्पातको मुटुले प्रेम गर्न जान्दैन
केवल शासन गर्न जान्दछ ।
९.
यावत् सपनाहरू हिँड्ने
यावत् बाटोहरूको गन्तव्य सिंहदरबार हो भने
यहाँ कसैले पनि ठीक सपना देखिरहेको छैन ।
१०.
आफूमा निहित सार्वभौमसत्ता प्रयोग गर्दै
म जारी गर्छु
कविता ऐन, २०८०
आजकै मितिबाट सिंहदरबार विघटन गरिनेछ
उपरान्त सबै खाले शासकीय भाषाहरू
स्वतः खारेज हुनेछन् ।



