काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राज्यले ०.१६ प्रतिशत मात्रै बजेट युवाहरुको हकमा छुट्याएको बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर महानगरपालिकाको वडा भेला तथा समिति गठन कार्यक्रममा सांसद कार्कीले यस्तो बताएकी हुन्।
युवाहरुलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसको लागि राज्यले वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरुले गर्ने राजनीति हुनुपर्ने बताइन्।
‘विज्ञ मानिसको अभावका कारण नै देश आजको अवस्थामा पुगेको छ। स्वास्थ्य घर घरमा पुग्न सकेको छैन्, गुणस्तरीय शिक्षा हासिल गर्न सकेको छैन्, त्यसकारण अबको राजनीति भनेको विज्ञहरुले गर्ने राजनीति हुनुपर्छ,’ उनको भनाइ छ, ‘युवाहरुलाई देशमा राख्न राज्यले हेर्नुपर्छ नि ४२ प्रतिशत युवाहरु भएको देशमा ०.१६ प्रतिशत मात्रै बजेट छुट्याएको छ युवाको हकमा त्यो बजेटले युवा देशभित्र बस्छन् त। हामीले वृद्ध र बालबालिकाको देश मात्रै बनाउँन खोजेको हो।’
सांसद कार्कीले रास्वपाले देखेको सपना साकार गर्नको लागि रास्वपाको सरकार हुनु आवश्यक भएको बताइन्। उनले अहिलेको जस्तै साथ र सहयोग हुने हो भने त्यो सपना २०८४ सालमा पूरा हुने बताइन्। सांसद कार्कीले ८४ मा रास्वपाको सरकार बन्ने र त्यो सरकारले राष्ट्र बनाउँने दावी पनि गरिन्।
‘रास्वपाबाट केही हुदैँन भन्ने जस्तो टिप्पणी पनि आएको छ, राजनीतिक विश्व विद्यालयमा रास्वपा भर्ना मात्रै भएको छ, परीक्षा दिनै पाएको छैन। परीक्षापश्चात मात्रै गर्न सक्छ कि सक्दैन भन्ने कुरा थाहा हुन्छ,’ उनको भनाइ थियो, ‘हिजो मत क्रान्ति गरेका थियौँ, आज दल क्रान्ति गरेर हेरौं मात्रै एक कार्यकालमा यो देशको कायापलट हुन सक्छ सम्भव छ। रास्वपाको विधानमा ५१ प्रतिशत युवाको सहभागितालाई प्राथमिकतामा राखेका छौँ। ती युवा भनेको अहिलेका पढेका लेखेका, जानेका बुझेका युवाहरु हुने छन् र ती युवाहरुले नै देशको मुहारहरु फेर्न सक्छन्।’


