काठमाडौं– २ भदौ २०७८ मा एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालको राजनीतिक उचाइ जति लम्बेतान छ, पार्टी संगठन भने करिब शून्य अवस्थामा पुगेको छ।राजनीतिक पार्टी भए पनि संगठन शून्य हुँदा कांग्रेस टेकोमा स्थानीय तहमा निर्वाचित केही मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रदेशमा केही मन्त्री र संघीय सरकारमा केही मन्त्रीबाहेक नेकपा एसको संगठन चर्चा खासै सुनिँदैन।
अझ पछिल्लो समय पार्टीबाट माउ एमालेतिर फर्किने नेता, कार्यकर्ताको ओइरो लागेपछि माधव नेपाल अध्यक्ष रहेको पार्टी तीनकुने केन्द्रीय मुख्यालयको साइनबोर्डमै सीमित हुने आशंका छ। ताजा उदाहरण, २० साउनमा मात्रै एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं पूर्वसांसद सुभाष कर्माचार्य एमालेमै फर्किएका छन्। पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका कर्माचार्य १८ महिनापछि एमालेमै फर्किएका हुन्।
लामो समय सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भएर एमाले हाँकेका कर्माचार्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर थिए। पार्टी विभाजनपछि १२ पुस २०७८ मा एकीकृत समाजवादी प्रवेश गरेका थिए। तीनै तहको निर्वाचनमा एमाले हराउन भूमिका खेलाका कर्माचार्य एमाले फर्किएपछि नेकपा एसको संगठन सिन्धुपाल्चोकमा शून्य भएको छ।
संगठन क्रमशः चुँडिँदै गएका बेला आजदेखि नेकपा एसको पोलिटब्युरो सुरु हुँदै छ। तीनकुने आलोकनगरस्थित मुख्यालयमा शनिबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले ३–४ भदौमा पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो। पोलिटब्युरो बैठक कम्युनिस्ट पार्टीहरुको मूल अंग हो। यसले लिने निर्णयबाटै पार्टीको राजनीतिक, सांगठनिक स्वरुपको भविष्य तय हुने मानिन्छ।
नेकपा एसले ५–६–७ भदौमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको दाबी छ। उनले दाबी गरे पनि संगठनात्मक रुपमा पार्टी क्रमशः पातलिँदो छ।
‘पोलिटब्युरो बैठक आजदेखि सुरु गरिरहेका छौं। ३–४ भदौमा केन्द्रीय पोलिटब्युरो बैठक बस्दै छ। ५, ६ र ७ मा केन्द्रीय कमिटी बैठक बस्दै छ। एजेन्डा हामीले पहिले नै तय गरेर पठाइसकेका छौं। आज र भोलिको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र पार्टीको आगामी कार्यभारबारे खुलेर छलफल हुन्छ’, उनले भने।
सोही आधारमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्ना धारणा राख्ने उनले बताए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको डिजाइनमा तयार भएको समाजवादी मोर्चालाई पार्टी बनाएर त्यसमै समाहित हुने योजनामा नेकपा एस रहेको छ। पोलिटब्युरो बैठककै समय आज बेलुकी ६ बजे समाजवादी मोर्चाको बैठकमा बोलाइएको छ। नेकपा एसले ७ भदौमा केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ। केन्द्रीय कमिटी बैठकमा धेरै महत्त्वपूर्ण निर्णय र प्रस्ताव बेला पारित हुने नेता खतिवडाको दाबी छ।
नेकपा एस आगामी माघमा सम्पन्न हुने गरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। पार्टीभित्र नेता नेपाल र सम्मानित नेता झलनाथ खनालबीच नेतृत्वको रस्साकस्सी चलिरहेको छ। बचेखुचेका नेता, कार्यकर्तासमेत एमालेतिर प्रवेश गरिरहेका छन्। नेकपा एस गठनमा सक्रिय रहेकी रामकुमारी झाँक्रीसमेत पछिल्लो समय पार्टीप्रति विरक्तिएकी छन्।
पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय लिने बताइए पनि नेकपा एसभित्रको संगठन क्रमशः पातलिँदै गएको छ। नेता नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा परेको देखिएको छ। संगठन शून्य हुँदै गएको अवस्थामा राजनीतिक भविष्यमाथि प्रश्नचिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता, कार्यकर्ताले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा एमालेमा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो।
एमालेमा फर्कने एकीकृत समाजवादी पार्टीका नेताहरूको लिस्ट लामो रहेको नेता गगन विष्ट बताउँछन्। उनले भने, ‘एकीकृत समाजवादी पार्टी भनेर माधव नेपाललाई रुँगेर बस्ने नेताहरू कम हुँदै छन्। विगत एक वर्षभित्र उक्त पार्टीबाट एमालेमै फर्किएका जिल्लादेखि केन्द्रसम्मको नेतृत्व तहमा रहेका नेताहरूको संख्या चार दर्जन बढी छ। एमालेमा फर्कने केन्द्रीय कमिटी सदस्य त्योभन्दा धेरै छन्।’
गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमाले नेताहरूले बताउने गरेका छन्। दर्जन बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भइसकेको विष्टको दाबी छ।


