काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार (आजै) विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव पेस गर्ने भएका छन्। नेपाली कांग्रेसका सांसद इस्माइल मन्सुरीले गर्ने र सोही बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका हुन्।
एमालेबाट सांसदमा निर्वाचित भएर उपसभामुख सिर्जना दनुवारले बैठक बोलाएर काठमाडौँतर्फ लागेपछि प्रदेशसभा बैठक बस्ने वा नबस्ने अन्यौल भएको थियो। तर दिउँसो ३ बजे बैठक बस्ने र त्यसको अध्यक्षता इम्माइल मन्सुरीले गर्ने सत्तारुढ दलबीच सहमति भएको छ।
‘उपसभामुख काठमाडौँ लागेपछि प्रदेशसभा बैठक बस्ने कि नबस्ने अन्यौल भएको थियो। तर आजै दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्छ,’ माओवादी सांसद गणेशप्रसाद उप्रेतीले भने, ‘विश्वासको मत लिने प्रयोजनका लागि नै बैठक बस्न लागेको हो। आजै मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुहुन्छ।’
सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्।
मन्सुरीले बैठकको अध्यक्षता पनि गर्ने र विश्वासको मत पनि दिने बताइएको छ। माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए।
प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउँछ। तर सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ। तर अध्यक्षता गर्ने व्यक्तिले बराबर मत भएको अवस्थामा मात्र मत दिन पाउने संवैधानिक व्यवस्था छ। विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन्। तर कति जना विपक्षी सांसद आजको बैठकमा उपस्थित हुने भन्ने टुंगो छैन।
बैठकमा उपस्थित नभएर काठमाडौँतर्फ उपसभामुख सिर्जना लागेपछि मुख्यमन्त्री थापाले एमालेले धोका दिएको आरोप लगाएका थिए। उनले सोमबार प्रदेशसभा बैठक बस्न नसक्ने समेत बताएका थिए। तर सत्ता घटकहरु बसेर सोमबारै विश्वासको मत लिने विषयमा निर्णय लिएका थिए।


