परिवार नियोजनका कुनै साधन प्रयोग नगरिकन दम्पति एक वर्षसम्म निरन्तर रुपमा सम्पर्कमा बस्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ। महिलाबाट उत्पादन हुने अण्डा र पुरुषको शुक्रकिटको मिलन भएर गर्भ हुने हो। गर्भ रहनका लागि यी दुवै पक्ष उतिकै जिम्मेवार हुन्छन्। बाँझोपनको समस्या महिला र पुरुषमा दुवै पक्षमा हुन सक्छ।
शुक्रकिटको मात्रा अत्यधिक कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखिन्छ। शुक्रकिटलाई हाम्रो शरीरको तापक्रमभन्दा दुई डिग्री कम तापक्रम चाहिन्छ। नेपालको परिवेशमा भन्नु पर्दा वैदेशिक रोजगारीका लागि अत्यधिक गर्मी वातावरण भएका खाडी मुलुक जाने क्रम छ। गर्मी स्थानमा काम गर्ने पुरुष, गाडी चालक र सेफहरुमा शुक्रकिटको चाल र आकारमा परिवर्तन हुन थाल्छ। जसले बाँझोपनको समस्या आउने सम्भावना बढी हुन्छ। शुक्रकिट निष्काशनमा समस्या, भेरिकोसिल, इन्फेक्सन, वंशाणुगत कारण, इम्युनोलोजिक, नली बन्द (सर्जरी वा ईन्फेक्सन)आदि पुरुषमा बाँजोपनका प्रमुख कारण हुन्।
महिलामा बाँझोपनको समस्या आउनुका पनि थुप्रै कारण छन्। ढिलो विवाह पनि एउटा कारण हो। ढिलो विवाह गर्दा जन्मजात लिएर आएको अण्डा कम हुँदै जान्छ। ढिलो विवाहका कारणले गर्दा विभिन्न पाठेघर, अण्डाशय, डिम्बाशयका रोग पनि देखिने सम्भावना हुन्छ। यसले पनि महिलाको उत्पादकत्वमा नकारात्मक असर पार्न सक्छ।
खानपान र जीवनशैलीले अण्डाको उत्पादनमा असर गरिरहेको हुन्छ। व्यायाममा ध्यान नदिने, जंक फुड बढी खाने महिलामा बाझोपनको समस्या निम्तिन सक्छ।
महिनावारीमा गडबढी देखिने पोलिसिस्टिक ओभरसिस्टका कारण पनि अण्डाको विकास राम्रोसँग नहुने, अत्यधिक अण्डा हुने, संक्रमणका कारण गर्भ नली बन्द हुने, पाठेघरमा संक्रमण हुने, पाठेघरमा साना साना ट्युमर पलाउने जस्ता कारणले बाँझोपनको समस्या आउन सक्छ।
खानपान र जीवनशैलीले अण्डाको उत्पादनमा असर गरिरहेको हुन्छ। व्यायाममा ध्यान नदिने, जंक फुड बढी खाने महिलामा बाझोपनको समस्या निम्तिन सक्छ।
घरबाहिरको खानेकुराले तौल बढ्ने हुन्छ। जसले महिलामा अण्डा अत्यधिक बढी हुने हुन्छ। जसको कारण अण्डाको विकास नहुने हुँदा बाझोपनको समस्या निम्तिन सक्छ।
के छ उपचार?
बाँझोपनको समस्या भएका दम्पतीको उपचार सम्भव छ। तर यसको उपचार दम्पतीमा एक जनाले मात्र गराएर हुँदैन। दुवै जनाको परीक्षणबाट उपचार सुरु हुन्छ। परीक्षण र कारण निदानपछि उनीहरूमा कुन उपचार उपयुक्त हुन्छ भनेर छुट्याउँछौँ। जस्तो पुरुषको शुक्रकिट राम्रो भएको तर महिलामा अण्डाको विकास राम्रो भएको नहुन सक्छ। यस्तोमा कुन पक्ष कमजोर छ भनेर छुट्याउनुपर्ने हुन्छ। अण्डामा कमजोरी देखिए महिलालाई अण्डा बनाउने औषधि दिइन्छ। यसो गरेमा ती महिला गर्भवती हुने सम्भावना हुन्छ।
पुरुषमा शुक्रकिट कमी छ भने ल्याबमा शुक्रकिटको चाल बढाउन सकिन्छ। महिलाको अण्डाको विकासक्रम हेरेर उपयुक्त चाल भएको शुक्रकिट हाले गर्भधारण गराउन सकिन्छ। मेडिकलको भाषामा जसलाई ‘आईयुआई’ भनिन्छ। पटकपटक आईयुआई गर्दा पनि गर्भ बसेन वा दुवै गर्भनली बन्द भएको अवस्थामा मात्र आईभीएफ गरिन्छ।
आईभीएफमा महिलाको अण्डा र पुरुषको पनि शुक्रकिट झिकेर ल्याबमा फर्टिलाइज गराइन्छ। जसबाट भ्रुण बन्छ । सोही भ्रूणलाई महिलाको पाठेघरमा राखिन्छ। यसरी अण्डा र शुक्रकिटलाई जैविक शरीर बाहिरको वातावरणमा फर्टिलाइज गराएर फेरि महिलाको पाठेघरमा राख्ने प्रक्रियालाई नै आईभीएफ भनिन्छ। आईभीएफ महँगो उपचार प्रणाली हो।
आईभीएफ समयमा गर्यो भने यसको सफलताको दर उच्च हुन्छ। आईभीएफमा चाहिने भनेको अण्डाको रिजर्भ हो। आईभीएफका लागि आएका व्यक्तिलाई सुरुमा सबै परीक्षण गरिसकेपछि मात्र अन्य विधिबाट बच्चा नहुने भएपछि मात्र आईभिएफ गर्न सुझाव दिइन्छ। सुरुमै आईभीएफ गरिँदैन। १० देखि १५ वटा अण्डा भएको अवस्थामा आईभीएफ सफल हुने दर ९५ प्रतिशतसम्म हुन्छ।
जस्तोः कुनै महिलाको १० देखि १५ वटा अण्डा हामीले झिकेर ल्याबमा राख्छौँ। जसबाट हामीले महिलाको पाठेघरमा एउटादेखि दुई वटा मात्र भ्रुण राखिन्छ। बाँकी फ्रिज गरेर राखिदिएको हुन्छ। पुनः प्रयोग गर्न सक्ने भए। यदि पहिलो पटकमा सफल भएन भने दोस्रो पटकमा ती महिलाले आईभीएफको पूरा प्रक्रिया पूरा गर्न परेन। यसका कारण आईभीएफको दोस्रो चरणमा पहिलाभन्दा ३ देखि ४ गुणा कम खर्च हुन्छ।
दोस्रो पटकको प्रक्रियामा पहिलो पटकमै बनिरहेको भ्रुण नै राख्न सकिन्छ। जसबाट सफल हुने दर उच्च हुन्छ। यदि सन्तान चाहने दम्पत्ती समयमै आईभीएफका लागि आए ३ देखि ४ पटकसम्मका लागि भ्रुण फ्रिज गरेर राखिदिएका हुन्छौं।
पुरुषको शुक्रकिटको आकार उपयुक्त नभएको अवस्थामा आईभीएफ पद्धति अपनाउन सकिँदैन। त्यस्तो खण्डमा ईक्सी गरिन्छ। शुक्रकिटको लामो पुच्छर हुने, टाउको सानो/ठूलो हुने वा दुई वटा टाउको हुने पनि हुन्छ। त्यस्ता शुक्रकिट प्राकृतिक रुपमा फटिलाइज हुन सक्दैनन्। त्यस्तो केसमा एउटा अण्डामा एउटा शुक्रकिट इन्जेक्ट गरिदिन्छौँ। जसका कारण फर्टिलाइज हुने सम्भावना बढेर जान्छ।
हाम्रो अस्पतालमा सुरुदेखि नै क्लनिकल परीक्षण गरिएको छ भने ९० प्रतिशत गर्भ रहुने संभावना हुन्छ। आईभीएफ गरेर गर्भवती हुनु र प्राकृतिक रुपमा गर्भवती हुनुमा केही फरक हुँदैन। महिलाको अण्डा र पुरुषको शुक्रकिटको सम्पर्कमा भ्रुण नबनेपछि बाहिर ल्याबमा भ्रुण बनाएर पाठेघरमा राखिने मात्र हो। अन्य विकासक्रम सबै एउटै हो। आईभीएफबाट गर्भवती भएकाहरुलाई तीन महिनासम्म हर्मोनहरु दिइन्छ। त्यसपछि अन्य गर्भवती जसरी नै हेरिन्छ।
हाम्रो समाजमा अहिले पनि छिटो आईभीएफ गर्न आउनेको कमी छ। अन्तिम चरणमा मात्र उपचार/आईभीएफका लागि आउँदा उमेर ढल्किसकेको हुन्छ। यसमा विचार पुर्याउनुपर्छ।
(प्रसुति तथा बाँझोपन विशेषज्ञ डा सिम्खडा वरदान फर्टिलिटी सेन्टर काठमाडौंमा कार्यरत छिन्।)



